मकवानपुरबाट राष्ट्रिय राजनीतिमा स्थापित नाम बनाइसक्दा पनि अहिलेसम्म जनताको चुनाव भने जित्न नसकेका नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापा यसपटक मकवानपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धी बनेका छन्। यी दुइसंगै राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपातिर लागेका दीपकबहादुर सिंहलाई पनि मुख्य प्रतिस्पर्धी मानिएको छ।

कांग्रेसको साथ पाउँदा पनि अघिल्लो पटक सोही क्षेत्रमा नेकपा एमालेका कृष्ण दाहालसंग पराजित भएका थापा यस पटक एमालेकै सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्। उम्मेदवारी दर्ताको अघिल्लो दिन एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानालाई ‘ब्याक’ गराएर एमालेकै समर्थनमा उनी चुनावी अभियानमा होमिएका छन्। मकवानपुरमा इमान्दार नेताको छवि बनाएका रानालाई केन्द्रको दवावमा उम्मेदवारबाट पछि हटाएको भन्दै एमालेका नेता कार्यकर्ता असन्तुष्ट रहेका छन्। उम्मेदवारी दर्ताको दिन एमाले नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गर्दै तोडफोड समेत गरेका थिए।

यस्तै अघिल्लो निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा तत्कालीन नेकपा एमालेका विरोध खतिवडासंग पराजित डिनाले यस पटक क्षेत्र परिवर्तन गर्दै मकवानपुर १ बाट उम्मेदवारी दिएकी छिन्। स्थानीय तह निर्वाचनको मतलाई आंकलन गर्दै जित्ने दावीसहित उनी नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तासहित चुनावी अभियानमा रहेकी छिन्। जिल्ला तहका नेतासंग सल्लाह नै नगरी राप्रपा नेपाल अध्यक्ष थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट समर्थन लिएर आएको भन्दै एमालेका जिल्ला तहका नेता कार्यकर्ताले आक्रोश पोखिरहेका छन्।

सूर्य चुनाव चिन्हबाट लडेका थापा यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन । थापाको ‘खास मान्छे’ को रुपमा चिनिएका दीपकबहादुर सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। उनकै मान्छे भएर बर्षौ काम गरेका मधु अधिकारी नेकपा (एकीकृत समाजवादी) तर्फ र खिलप्रसाद चौलागाईं नेकपा एमालेतर्फ लागेका छन्। स्थानीय तहको निर्वाचनमा सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अप्रत्यासित मत प्राप्त गरेका थिए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो