- सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गर्नुभएको हो । पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिनुभयो । जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने बैठकमा आयोजना गरिएको प्रजिअ पन्थीको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ जनप्रतिनिधिलाई अनुभवको खाँचो रहेको छ । पुरानाबाट अनुभव साटासाट, सीमा जोडिएका पालिकाको विकास निर्माण, सुशासन, सबै पालिकामा एकरुपता ल्याउने । कुनै पालिकाबीच समस्या भए समाधान गर्न पहल गर्ने उद्देश्य राखेका हौँ ।” तीनवटै तहका सरकारले एकअर्कासँग मिलेर काम गर्ने भनेर कानुन बनेको भए पनि स्थानीय सरकारबीच पनि साझेदारी आवश्यक रहेको प्रजिअ पन्थीको भनाइ छ । पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरिएको र समन्वय बैठक सिकाइ आदानप्रदानका लागि महत्वपूर्ण बन्ने पुर्चौंडी नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ जनप्रतिनिधिलाई पालिकाको कामलाई कसरी प्रभावकारी बनाउन भनेर अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको छ, बैठकबाट धेरै कुराको सिकाइ भएको छ ।” बैठकमा नगरपालिकामार्फत सञ्चालन गरिएका विकास र सुशासनका कामका बारेमा जानकारी गराइएको र अरु पालिकाले गरिरहेका कामका बारेमा पनि अनुभव साटासाट गरिएको दशरथचन्द नगर प्रमुख पुष्करराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले गरिरहेका असल अभ्यासका विषयमा सिकाइ आदानप्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको छ, यसको निरन्तरता आवश्यक छ ।” स्थानीय तहमा रहेका न्यायिक समितिलाई सक्रिय बनाउन समितिका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिने, सीमा जोडिएका पालिकाले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने, पालिकाबीच असल अभ्यास, समस्या लगायतका विषयमा बैठकमा छलफल भएको छ । प्रत्येक महिना फरकफरक पालिकामा सञ्चालन हुने अन्तरपालिका समन्वयात्मक अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा बस्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस




















प्रतिक्रिया दिनुहोस्