टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजना र टोल विकास वडा समन्वय समिति हेटौंडा–४ तथा न्युरेनी टोल विकास संस्थाको व्यवस्थापनमा “बोतल देऊँ, बिरुवा लिऊँ” कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा गरिएको हो । अभियानअन्तर्गत स्थानीयहरूले घर–घरमा संकलन गरेर ल्याएका प्लास्टिकका बोतलहरूको सट्टामा आँप, लिची, अम्बा, कागती लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वितरण गरिएको हो।

१० वटा प्लास्टिकका बोतल बराबर एउटा फलफूलको बिरुवा प्रदान गरिएको छ। यसले एकातर्फ वातावरणलाई प्रदूषणमुक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ भने अर्कोतर्फ फलफूलका बिरुवा रोपेर हरियाली बढाउने र भविष्यमा आर्थिक लाभसमेत लिन सकिने अपेक्षा गरिएको छ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण कुनै एक निकायको मात्र दायित्व नभई सरकार, सामाजिक संघसंस्था र आम नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्। पछिल्लो समय प्लास्टिकजन्य फोहोर वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै उनले यस्ता व्यवहारिक अभियानहरूले नागरिकलाई प्रत्यक्ष रूपमा संरक्षण अभियानसँग जोड्ने काम गरिरहेको बताए।

उनका अनुसार प्रयोगपछि फालिने प्लास्टिकका बोतललाई फोहोरका रूपमा मात्र नहेरी वातावरण संरक्षणको माध्यमका रूपमा उपयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानमार्फत एकातर्फ प्लास्टिकजन्य फोहोर संकलन भइरहेको छ भने अर्कोतर्फ फलफूल तथा हरियाली प्रवर्द्धनका लागि बिरुवा वितरण र रोपण कार्यलाई समेत प्राथमिकता दिइएको छ।

“हामीले बोतललाई फोहोर होइन, वातावरण जोगाउने अभियानको साधन बनाएका छौं। यसबाट सरसफाइ, वातावरण संरक्षण र नागरिक चेतना अभिवृद्धि एकैसाथ भइरहेको छ,” अधिकारीले भने।

उनले यस्ता कार्यक्रमले नागरिकमा वातावरणप्रति जिम्मेवारीबोध बढाउनुका साथै स्वच्छ र हराभरा सहर निर्माणको आधार तयार गरिरहेको बताए। हेटौंडालाई सफा, हरियालीयुक्त र वातावरणमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियानलाई अझ प्रभावकारी र व्यापक बनाइने उनको भनाइ छ।

अधिकारीका अनुसार हालसम्म विभिन्न चरणमा सयौं फलफूल तथा अन्य बिरुवाहरू वितरण भइसकेका छन्। आगामी दिनमा अभियानलाई नगरका सबै वडासम्म विस्तार गर्दै बढीभन्दा बढी नागरिकको सहभागिता सुनिश्चित गरिने लक्ष्य लिइएको छ।

पर्यावरणीय चुनौती बढिरहेका बेला फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धनलाई एकै सूत्रमा बाँध्ने यस्तो अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको विश्वास छ।

टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।