हेटौंडा/ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा आइतबारबाट चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालामा अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ ।
९ वटा विधामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ प्रदेशका करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नेछन् ।
विभिन्न प्रदेशका खेलाडीहरु विभागीय टोलीमा गएपछि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको प्रदेश खेलकुद ले जनाएको छ । जानकारी दिए अनुसार प्रतियोगिताका लागि १ सय ३६ वटा स्वर्ण, १ सय ३६ वटै रजत र १ सय ८६ वटा कास्य पदक गरी ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको हो ।

आइतबारबाट शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको समापन हेटौंडा–६ स्थित गौरीटार रंगशालामा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने छन् । सो स्थानमा पुरुष तर्फको फुटबल प्रतियोगिता हुने छ । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।