संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले मकवानपुरमा हुने भनिएको मेला महोत्सवका लागि स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी काम गर्नका लागि आग्रह गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुरको तर्फबाट आआफ्नो क्षेत्रमा परेका विभिन्न किसिमका समस्याका विषयमा ध्यानाकर्षण पत्र बुझाएपछि अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा उद्योग, निर्माण व्यवसायी र व्यवसायीहरुमा परेको समस्याको समाधानका लागि आग्रह सहित ध्यानाकार्षण गराइएको हो ।

डा. महतले छलफल कार्यक्रममा बोल्दै हेटौंडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र नीजि क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने र आर्थिक वृद्धि हुनुका साथै उद्योग व्यवसाय पनि बढ्ने बताए ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नम्बरका प्रहरी उपरिक्षक अनिल बुढाथोकी उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।