विजया दशमी २०८० को टीकाको साइत कार्तिक ७ गते मंगलवार बिहान ११ बजेर ०२ मिनेटको समय उत्तम रहेको छ ।

बडादशैं   विजया दशमीको टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत रहेसंगै नेपालमा रहेकाहरुका लागि बिहान ११ बजेर २ मिनेटको समय उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद लिने चलन भएपनि केही स्थानमा विजया दशमीका दिनमात्र टीका थाप्ने गरिएको छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाइदै आइएको कारण विभिन्न पेशा र व्यवसायका लागी कोशौ टाढा पुगेकाहरुपनि मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार बिहान ११ बजेर ०२ मिनेट अघि देवी विसर्जन गरी मान्यजनबाट पूर्वी मोहडा फर्किएर देवीको प्रसादका रूपमा टीका ग्रहणका लागी उत्तम रहेको हो ।

हरेक देशको स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने गरेको हुन्छ ।

नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ ।नेपालको स्थानीय पञ्चाङ्गअनुसार चाडपर्व मनाउदा गलत समय परेको तथ्यलाई मभ्यनजर गर्दै निर्णायक समितिले टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ ।

विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन अनुसार शुभकामना सहित टीका लगाउने शुभसाइत बारे जानकारी गराइएको हो ।