नेपाली कला जगतका हाँस्य कलाकार द्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली द्वारा संचालित धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको पनि ५ वर्ष नाघेको छ ।

२०७४ चैत १५ गते बिहीबार सामाजिक सञ्जालमार्तफ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेपछि ‘नमुना नेपाल’ निर्माण परियोजना र क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउने बताएका थिए।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब ३० हजार दर्शक क्षमताको रङ्गशाला बन्ने भनियो ।

क्रिकेट रङ्गशाला बनाउने पक्का भएपछि भरपुर महानगरले २० बिघा ८ कट्ठा क्षेत्रफल जग्गा लिएर धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो।

फाउन्डेसन र भरतपुर महानगरबीच १६ माघ २०७५ मा रङ्गशाला निर्माणका लागि सम्झौता भयो।

सरकारकै अग्रसरतामा रङ्गशाला निर्माण हुनुपर्ने शर्त राखेर आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराए पुरानो अनुभवका आधारमा आफूहरूले निर्माणको संयोजन गर्ने बताएका थिए।

सरकारले जग्गा मात्रै दिने सहमति पछि विभिन्न सहयोगबाटै निर्माण गर्न सकिने आश्वासनकै भरमा धुर्मुस सुन्तली फाउन्डेसनले ‘जनस्तरबाटै निर्माण गर्ने भयो ।

रङ्गशाला निर्माणमा ३ अर्ब लाग्ने अनुमान थियो भने फाउन्डेसनको खातामा २ करोड १४ लाख रुपैयाँ मात्र भएकाले देश–विदेशका नेपालीबाट स्वैच्छिक सहयोग मागियो।

भरतपुर महानगर १६, शान्तिचोकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको २०७५,माघ,२० गते एक समारोहबीच विस्तृत योजना प्रतिवेदन (डीपीआर) शुभारम्भ गरि पनि गरिएको थियो ।

यसैबीच, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आइतबार नै डोजरले माटो सम्याउने काम सुरु गर्दै  फाउण्डेसनका अध्यक्ष धुर्मुस र सुन्तलीले डोजर चालकसँगै उभिएर माटो सम्याउने काममा सरिक भएका थिए ।

उनले नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर देशकै गरिमा उच्च राख्ने अभियान भएको उल्लेख पनि गरे।

३ करोड नेपालीले भएको र प्रत्यकले एक सय रुपैयाकादरले पैसा दिए पनि तीन अर्ब हुने र सरकारले पनि सहयोग गर्ने विश्वास रहेको बताएका थिए ।

डीपीआर शुभारम्भ गरेपछि भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पताल भरतपुरकी निर्देशक डा.शारदा कुँवरले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको थियो ।

कट्टेलले जनताको रंगशाला बन्न लागेको र फुटबल मैदान, एथलेटिक्स, भलिबलको खेल मैदान , तेक्वान्दो खेल्ने ठाउँ समेत बन्ने र ७७ जिल्लाका खेलाडीहरुलाई समेत प्रशिक्षण दिने क्रिकेट रंगशाला मात्र नभएर खेलकुदको हबै बनाउने सोच रहेको बताएका थिए ।

धुर्मुसले  अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाएर देखाउने प्रतिबद्धता जनाउदै जनताको रंगशाला हो, हरेक नेपालीले सहयोग गर्नूस् । हामीलाई कुनै लोभलालच छैन, जसरी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनू छ भनिरहेका थिए ।

अहोरात्र खटिएर जग्गा उपलव्ध गराउन सहयोग गर्ने भरतपुर महानगरलाई विशेष धन्यवाद समेत दिएका थिए ।
शुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने बताइन् ।

कामगर्दा हरेक टिक्का टिप्पणी हुने भएकाले नकारात्मक तर्फ ध्यान नदिएर फाउण्डेसनलाई आवश्यक सहयोग गर्ने पनि बताएकी थिइन् ।

महानगरको विकास हेर्न चाहनेहरुलाई अबको दुई वर्षपछि चितवन आउन आग्रह गर्दै ‘सडक लगायत पूर्वाधारका योजना अगाडि बढेको जानकारी समेत गराईन् ।

यसैविच भरतपुर महानगरले धन धान्याञ्चल महायज्ञ आयोजना गरेर एमाले नेता तथा तत्कालीन प्रदेश सांसद २०७९ स्थानीय चुनावमा मेयरमा पराजित० विजय सुवेदीको संयोजकत्वमा ११ पुस २०७६ महायज्ञ लगाइयो। केही आर्थिक सहयोग संकलन भयो।

तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने रङ्गशाला बन्ने भनिएपनि कार्य अलपत्रमा छ । यता बनाउन होमिएका धुर्मुसले पिडा पोख्दै यतिबेला सहयोग मागिरहेका छन् ।
…………..

पछिल्लो समय भने रंगसालाको निर्माण कार्य स्थगित भएको त छ नै त्यहाँ सामान भएकाले पनि कुरुवा राख्नेपर्ने भएकाले आर्थिक भार दैनिक थप भइरहेको र त्यसै छाड्न समेत नमिल्ने फाउन्डेसनका कर्मचारी बताउँछन्।

यता महानगरपालिकालाई जिम्मा लिन भनेपनि रङ्गशालाको स्वामित्व महानगरपालिकाले लिइसकेको छैन भने सहयोग नजुट्नु र सामानको उधारो तिर्न पनि पैसा नभएर रङ्गशाला निर्माण गर्ने भनिरहेका धुर्मुसले संकटमा परेको भनिरहेका हुन् ।

उत्साहका साथ रङ्गशाला निर्माणमा जुटेपनि अहिले उधारो रकम १९ करोड नजिक पुगेको र सामान किनेको ठाउँमा तिर्नुपर्ने रकम भुक्तानी गर्न नसकेको उल्लेख गर्दै धुर्मुस सुन्तली फाउण्डेशन फेशबुक पेजमा भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियो मार्फत उधारो खर्चको जिम्मा लिएर काम बढाउन आग्रह गर्दै मन्त्रीदेखि उच्च तहका कर्मचारीसँग नियमित भेटघाट गरिरहेको र संकटबाट पार गरिदिन आग्रह गरेका हुन् ।