बागमती प्रदेशको राजधानी हेटौंडा बजारको मुख्यचोक बुद्धचोक मै प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीले जानकारी गराए अनुसार बुधाबार बेलुकाको समयमा हेटौंडा अस्पतालबाट राप्तिरोड हुँदै बुद्धचोकतर्फ तीव्र गतिमा आएको प्रदेश ०३००१ झ ०१२३ न.को मोबाइल भ्यानले ना. ४९ प ११९ र बागमती प्रदेश ०३-००५ प ३०७६ न.को मो.सा.लाई ठक्कर दिएको हो ।

भ्यानले मोटरसाइकललाई ठक्कर दिदा हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भएका हुन् ।

प्रहरीको भ्यानले सर्वसाधारणको मोटरसाइकलमा ठक्कर दिएर भागेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।

सर्वसाधारणबाट भएको घटनामा प्रहरीले सवारी सो स्थानमा राखेर बिभिन्न कागजपत्र माग्ने गरेपनि प्रहरीको भ्यानले गराएको घटनामा भने भ्यानै लिएर प्रहरी भागेको घटना स्थलमा रहेकाहरुले बताएका थिए ।

जिल्ला प्रहरी र बुद्दचोकमा प्रहरीले घटाएको घटना लुकाउन खोजेको भन्दै स्थानियहरु आक्रोसित भएका हुन्।

उनिहरुले नियम कानुन् सबैलाई बराबर किन भएन ? प्रहरीले ठक्कर दिएपछि भ्यानलाई किन भगाईयो ? भन्दै आक्रोस पोखेका थिए ।

बज्राचार्यलाई उपचारकालागी हेटौंडा अस्पताल र अर्याललाई हेटौंडा अर्थोपेडिक अस्पतालमा लगिएको थियो भने केही समयपछि बज्राचार्यलाई पनि उपचारकालागी हेटौंडा अर्थोपेडिक अस्पतालमा लगिएको थियो ।

आक्रोसित भिड नियन्त्रणका लागी मकवानपुर प्रहरी, वडा प्रहरी, बागमती प्रदेश प्रहरी गण हेटौंडा, नेपाल प्रहरी बिशेष सुरक्षागण रातोमाटे बाट प्रहरी टोली खटिएका थिए ।

यता भ्यान भागेको नभएर  जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट भिमफेदी कारागारको लागी थुनुवा लिई हिडेको भ्यान रहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

गल्ती गर्नेलाई कार्वाही  र काम कर्तव्यमा रहेर काम गरिने प्रहरीको भनाई छ ।