बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारदेखि सुरुभएको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता समापन भएको छ ।
प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहको विजेताको टुंगो लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका आयुष श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

उनले सल्यानका दर्शन घर्ती मगरलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन् ।

पुरुषतर्फ ७१ केजी तौल समूहमा निमा दोर्जे तामाङले भक्तपुरका प्रवेश बस्नेतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।
पुरुषतर्फ ५७ केजी तौल समूहमा बक्समाण्डुका आयुष थापा, ६० केजी तौल समूहमा डीजी बक्सका सौरभ राई, ६३.५ केजी तौल समूहमा मकवानपुरका सोहन राईले स्वर्ण पदक जितेका छन् ।
पुरुषतर्फ ६७ केजी तौल समूहमा आभाष बिक्रम शाहले स्वर्ण पदक जितेका छन् ।

फाइनल खेलमा विजयी हुंदै ५२ केजी तौल समूहमा भक्तपुरकी भावना भण्डारी, ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन् ।
पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढा मगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देवकोटाले स्वर्ण पदक जितेका छन् ।
महिलातर्फ ५४ केजी तौल समूहमा बक्समाण्डुकी आंगी शेर्पा, ५७ केजी तौल समूहमा बक्समाण्डुकै प्रिती श्रेष्ठ, ६० केजी तौल समूहमा भूमि बक्सिङ क्लवकी बबिता गोदार क्षेत्री र ६६ केजी तौल समूहमा रेजकी सहिस्ना विष्टले स्वर्ण पदक जितेकी छन् ।
२३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी भएका थिए । विधागत प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिएको हो ।
फाल्गुन ३० गतेबाट शुरु गरिएको खेल चैत ४ गते समापनमा
विजेता तथा उपविजेता खेलाडीलाई संघ अध्यक्ष दिपेश जोशी र हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाद्धारा पुरस्कार वितरण गरिएको हो ।
मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बक्सिङ खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी मेडल प्राप्त गरेका खेलाडी, पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो ।