बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राष्ट्रिय मानव अधिकार आयोगले सिमान्तकृत तथा पछाडि पारिएका समुदायको मानव अधिकार संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् ।

७४ ओैं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजाले यस्तो बताएका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सबै क्षेत्रबाट पिछडिएका नागरिकहरुमा बढी मानव अधिकार हनन्का घटना हुने उल्लेख गर्दै यसतर्फ ध्यान पुर्याउन आयोगलाई सुझाव दिए ।

मानव अधिकारको प्रत्याभूत गराउन नेपालमा बनेका ऐन कानुनहरुको पालनामा केन्द्रित रहेर काम गरिनुपर्ने बताए ।

गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको र देशभरमा १०१ वटा उजुरी मध्ये बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले
जानकारी दिए ।

उनले बताए अनुसार प्रदेशको १३ जिल्लाबाट उजुरी पर्दा सबैभन्दा बढी काठमाडौंको उजुरी परेको र काठमाडौंमा ८ वटा, ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको हो ।

त्यस्तै, सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २र२ वटा,रामेछापको १ वटा उजुरी परेको हो । मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुरबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले बताए ।

आयोग बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विनोद भट्टराई, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतको अतिथ्यता रहेको थियो ।