जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनका लागि प्रमुख उपप्रमुख र सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनबाट हेटौंडा १२ को वडा अध्यक्षमा निर्वाचित सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान, नेकपा एमालेबाट इन्द्रसरोवरका बुद्धिराम डिम्डुङले प्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै गरी उप–प्रमुख पदमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेलले उम्मेदवारी दिएका हुन् ।

मकवानपुरको उप–प्रमुख पदमा सानुकाजी लुइटेल निर्वाचित भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्य पदमा निर्वाचित लुइटेल उक्त पदमा एकल उम्मेदवारी भएसंगै लुइटेल जिसस उप–प्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै गरि ३ जना महिला सदस्य रहने प्रावधान रहेकाले सो पदका लागि जिससमा ४ जनाले मनोनयन दर्ता गराएकाले निर्वाचन हुने भएको छ।

महिला सदस्य पदका लागि नेपाली कांग्रेसबाट क्रमश तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका छन् ।

दलित तथा अल्पसंख्यक सदस्य तर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले उम्मेदवारी दिएकी छन् ।

अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा,नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

भोलि मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दावी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए ।

उनले बताए अनुसार अनुसार भोलि मंगलबारनै मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने र कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ ।

असार १ गते उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । २ गते मतदान हुने जनाइएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगर , थाहा नगर र ८ वटा गाउँपालिका छन् भने सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् ।

हेटौंडा उपमहानगर १२ का वडाध्यक्ष घलान जिसस प्रमुख निर्वाचित भएमा वडाध्यक्ष पदकालागि उप निर्वाचन हुने छ ।