हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तरगर्त हेटौंडा उपमहानगर भित्रका १२ वटा वडामा सम्पन्न गरिएको हो । आयोजकले जनकारी दिए अनुसार हेटौंडाका वडा नं. १, ३, ४, ६, ७, ८, ९, ११, १३, १४, १५ र १९ गरी १२ वटा वडामा सम्पन्न गरिएको हो ।

वडा समन्वय समिति तथा स्थानीय टोल विकास संस्थाहरूको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा समुदायमा हुने सामाजिक विवाद, घरेलु झैझगडा, मेलमिलाप, न्यायिक प्रक्रिया, नागरिक अधिकार तथा कर्तव्य, साइबर अपराध, महिला तथा बालअधिकार लगायतका विषयमा जानकारी प्रदान गरिएको हो ।

हरेक टोल टोलमा हुने सामान्य प्रकृतिका विवादहरूलाई समुदायस्तरमै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवं न्यायिक समिति संयोजक राजेश बाँनियाले समाजमा बढ्दै गइरहेका हरेक गतिबीधि, सामाजिक तथा पारिवारिक विवाद न्यूनीकरणका निम्ति सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए ।
समुदायमा कानुनी चेतना अभिवृद्धि गर्नु मुख्य आवश्यकता भएको उल्लेख गर्दै स्थानीय स्तरमा मेलमिलाप र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

समाजमा सकारात्मक कार्यमा टोल विकास संस्थाहरूलाई सामाजिक सद्भाव, एकता र समुदायस्तरको नेतृत्व विकास गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताए ।

सोहीक्रममा समुदायमा कानुनी ज्ञान र सचेतनाको अभावका कारण सामान्य विवादले समेत जटिल रूप लिने गरेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशा प्रदान गर्नुका साथै जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले उल्ल्ेख गरे ।

टोल विकास संस्थाहरूलाई समुदाय परिवर्तनको आधारशक्तिका रूपमा विकास गर्दै सामाजिक उत्तरदायित्व, सहकार्य, मेलमिलाप र सकारात्मक सामाजिक संस्कार निर्माणमा सक्रिय बनाइनुपर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।

कार्यक्रममा कार्यक्रममा न्यायिक समितिका सदस्य ज्ञान बहादुर थापा, अधिवक्ता सुजन तिमल्सिना, अमृत बर्तौला, सन्तोष पौडेल लगायतले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने हेटौंडा उपमहानगरपालिका न्यायिक समिति, वडा समन्वय समितिहरू, टोल विकास संस्थाहरू, विभिन्न संघसंस्था, महिला समूह, विभिन्न टोल विकास संस्था, वडा समन्वय समिति, महिला समूह, नारी समाजका व्यक्तित्व, युवा, अभिभावक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।