१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोटको पुरुष ७५ केजी तौल समूहको सेमिफाइनलमा उनी त्रिभुवन आर्मीका बक्सर दीपेश लामासँग ३–२ अंकका आधारमा पराजित भएका हुन्। सोही तौलसमूहमा आर्मीका बक्सर दीपक श्रेष्ठले बाग्मती प्रदेशका साजन थिङ तामाङलाई ५–० ले हराए। पराजित भएका सनिलसँगै साजन पनि आगामी सेप्टेम्बरमा १० देखि २५ सम्म हान्झाउमा हुने १९औं संस्करणको एसियन गेम्सअन्तर्गत बक्सिङको प्रारम्भिक छनोटमा बस्न पाउनेछन्।
एसियाडका लागि पुरुष र महिलामा समान ४/४ गरी कुल आठ तौलसमूहमा नेपाली बक्सर छनोट गरिनेछ। एक तौल समूहमा चार जना बन्द प्रशिक्षणमा राखिने भएकाले सेमिफाइनलमा पराजित बक्सरका लागि पनि एसियाडको यात्रा समाप्त हुने छैन। पुरुष ५२ केजी तौल समूहमा बाग्मती प्रदेशका लक्ष्मण राईले आर्मीका प्रेम चौधरीबाट वाकओभर पाउँदा सोही तौलमा नेपाल पुलिस क्लबका बक्सर चन्द्रबहादुर थापाले सशस्त्र प्रहरीका प्रदीप महर्जनलाई ४–१ अंकले हराए। ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीका पुरन राईले आर्मीका इन्द्रबहादुर सुनारलाई ५–० ले पराजित गरे।
सोही तौलमा बाग्मतीका सुरज महर्जनले पुलिसका शम्भु राजवंशीलाई ५–० ले हराए। ६३ केजी तौल समूहमा १३औं सागका स्वर्ण विजेता समेत रहेका पुलिसका बक्सर भूपेन्द्र थापा मगरले आर्मीका लालु आले मगरलाई ५–० अंकको आधारमा हराए। सोही तौलमा सशस्त्रका सोनाम सार्कीले बाग्मती प्रदेशका निसान दासलाई ४–१ अंकको आधारमा हराए। महिला ५७ केजी तौल समूहमा बाग्मतीका हेमा राईले आर्मीकी चन्द्रकला थापामगरद्वारा वाक ओभर पाइन्। सोही तौलमा आर्मीकी बिमला श्रेष्ठले पुलिसकी निशा तामाङलाई ५–० ले हराइन्।
महिला ५१ केजी तौल समूहमा १३औं सागकी स्वर्ण विजेता आर्मीकी बक्सर मीनु गुरुङले आर्मीकै ललिता महर्जनद्वारा वाकओभर पाइन्। सोही तौलमा बाग्मतीकी सुष्मा तामाङले पुलिसकी रिता धरलालाई हराइन्। महिला ६० केजी तौल समूहमा सशस्त्रकी संगीता सुनुवारले बाग्मतीकी देचेन शेर्पाद्वारा वाकओभर पाइन्। सो तौलको अर्को प्रतिस्पर्धामा आर्मीकी पुनम रावलले आर्मीकै वर्षा श्रेष्ठद्वारा वाकओभर पाइन्। यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो























प्रतिक्रिया दिनुहोस्