शंकर लामिछाने प्रतिष्ठानले सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण गरेको छ।

भुँडीपुराणद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’  भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरू: प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माल लोकार्पण गरेका थिए।

भुँडीपुराण प्रकाशनका केशव पराजुलीले स्वागत मन्तव्य दिंदै कार्यक्रम सुरु भएको थियो।

डा. शान्तिमाया गिरीले  आत्मपरक निबन्धको खाँचो भएको बेला ‘समकालीन नेपाली निबन्ध’ कृतिले त्यसको खाँचो पूरा गरेको बताइन्। चवालीस निबन्धकारका चवालीस निबन्ध सङ्गृहीत उक्त कृति  नेपाली निबन्ध क्षेत्रमा निकै उपयोगी देखिन्छ। निबन्ध विधाको खोजअनुसन्धान तथा अध्ययन गर्ने व्यक्तिका लागि कृतिले असल साथीले जस्तै साथ दिनेछ।

त्यस्तैगरी आत्मपरक निबन्धमै एमफिल गरिरहेकी सुधा शर्माले निबन्धकारपिच्छे फरकफरक वैचारिक दृष्टिकोण, भाषा शैली र प्रस्तुतिमा निबन्ध सङ्गहीत भएको बताइन्।

समालोचक प्रमोद प्रधानले हास्यव्यंग्य  र यात्रानिबन्ध धेरै र आत्मपरक निबन्ध थोरै भएको बेला सो कृतिले आत्मपरक निबन्धमा थप टेवा पुयाउने बताए।

समालोचक प्रधानले भने, ‘यो कृति आत्मपरक निबन्धको मनोरम यात्रा हो। नारी स्रष्टा उल्लेख्य रूपमा समेटिनु, विविधातापूर्ण निबन्ध हुनु र घनीभूत रूपमा जीवनदर्शन समेटिनु कृतिका सबल पक्ष हुन्। यस निबन्ध संग्रहले नेपाली निबन्धको यात्रालाई सहज बनाइदिएको छ।

समालोचक प्रधानले विधाको अनुसन्धाताले गहन अध्ययन र चिन्तन  गर्न सुझाए। उनले भने, ‘हामीमा अध्ययन गर्ने बानी नै छैनौ। अरूले तयारको गरेको सामग्री खुरुखुरु कपी पेस्ट गर्दा गलत सूचना गएको छ। पहिलाकाले कथा कृतिलाई निबन्ध  कृतिभन्दा अरू त्यही दोहोयारहका छन्। त्यसैले कुनै विधाको विधागत मूल्यांकन गर्ने तथा समालोचकले एकपटक सबै पुस्तक हेर्नुपर्छ।

सम्पादक श्रीओम श्रेष्ठ रोदनले सम्पादन कार्य सहज नभएको बताए। हामीले साहित्य साधना हो भन्ने कुरा बिर्सिदै गएका छौं। विषयको अभाव छैन तर आत्मपरक निबन्ध लेख्ने घट्दै छ। यस्तो अवस्थामा मैले सकेसम्म धेरै क्षेत्रका लेखकलाई समेट्न कोसिस गरेको छु।

कार्यक्रमका सभाध्यक्षले प्रकाशकले साहसका साथ किताब छापेकामा खुसी व्यक्त गरेका थिए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको कार्यक्रममा  गोविन्द गिरी  प्रेरणा,विमल भौकाजी, जय छाङ्छा, मोहन चापागाई, डिल्लीराम सुवेदी, प्रकाश घायल, त्रिभुवनचन्द्र वाग्ले, ममता मृदुल, बोधराज पौडेल, श्रीराम राई लगायतका साहित्यकारको सहभागिता रहेको थियो।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो