सत्तारुढ गठबन्धन निकट विद्यार्थी संगठनहरुले हरेक बुथमा २०० युवा/विद्यार्थी परिचालन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको शुक्रबार बसेको बैठकले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा २०० युवा/विद्यार्थी खटाउने निर्णय गरेको हो ।

बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेशस्तरीय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बताए ।

समितिमा पाँचवटै संगठनका अध्यक्षलगायत संलग्न हुनेछन् ।

‘संविधान कुल्चने, पटक-पटक संसद् विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धि माथि खेलबाड गरी मुलुकलाई पछाडि फर्काउन चाहने, स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनीतिअनुरुप गठन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता, कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने,’ विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विद्यार्थी संगठनका अध्यक्षहरुले अडियो, भिडियोमार्फत गठबन्धनका उम्मेदवारहरु विजय गराउन मतदातालाई सार्वजनिक अपिल गर्ने र चुनावी प्रतिस्पर्धामा रहेका दलका शीर्ष नेतृत्व तथा संयुक्त विद्यार्थी संगठनका पूर्वविद्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु सहभागी हुने पनि निर्णय गरिएको छ ।

समाचार कान्तिपुरबाट