हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केस्थित पूर्व–पश्चिम राजमार्गमा बसामाडी लेवर्ट प्रहरी चेकप्वाइन्टबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।
शनिबार दिउँसो करिब १४:१५ बजे प्रहरी सहायक निरीक्ष सिकेन्द्र साहको नेतृत्वमा खटिएको टोलीले बस्तिपुरतर्फबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३–०३२ प ३०१७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा लागूऔषध जस्तै देखिने खैरो हिरोइन २५ पुडिया (तौल १ ग्राम ०४ मिलिग्राम) फेला पारेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुनिल आचार्य (३०), बारा निजगढ–७ र पछाडि सवार किरण कार्की (३१), निजगढ–८ को साथबाट लागूऔषध बरामद भएपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरी चौकी बसामाडी लेवर्टले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीको भनाइ छ। उक्त स्थान प्रहरी चौकी बसामाडी लेवर्टबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्छ।














प्रतिक्रिया दिनुहोस्