हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रसारण हुँदै आइरहेको रेडियो थाहा सञ्चारको वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले रेडियोले १८ पूरा गरेर १९ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबारबाट वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । १८ औं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हेटौंडा–१,स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिएका छन् । रेडियोका सञ्चालक अरुणराज सुमार्गी पुराजुलीको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम गरिएको थियो ।

रेडियोले आफ्‌नो वार्षिकोत्सवको अवसरमा फागुन ७ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने कार्यतालिका रहेको स्टेशन म्यानेजर अधिकारीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि शनिबार हेटौंडा–४,स्थित हुप्रचौरमा महिला पत्रकार र महिला अधिकारकर्मीहरुबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने स्टेशन म्यानेजर अधिकारीले बताए । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजयी हुने टिमले नगद राशिसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने पराजित हुने टिमले प्रमाणपत्र प्राप्त गर्नेछन् । फागुन ३ गते थाहा दर्शन कार्यक्रम,फागुन ४ गते मकवानपुरको मकवानपुरगढी गाउँपालिका आमभञ्जयाङस्थित सरस्वती प्राथमिक विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण, फागुन ५ गते श्रोता मिलान कार्यक्रम, फागुन ६ गते हेटौंडा–२,स्थित मोटल एभोकार्डोको सहकार्यमा बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा कार्यक्रमको समापन समारोह कार्यक्रम हुनेछ ।

वडाध्यक्ष न्यौपानेले मानव जीवनको सबैभन्दा पहिलो आधार सरसफाइ नै भएको उल्लेख गर्दै, आफ्नो वार्षिकोत्सवको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरेकोमा रेडियो थाहाको टिमप्रति धन्यवाद व्यक्त गरेका छन् । तरकारी तथा फलफूल बजार उक्त स्थानमा सारिएको दिनको स्मारण गराउँदै त्यसको व्यवस्थापन गर्नका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजित गर्ने गरेको बताए । फोहोरलाई मोहोर बनाउन लाग्नुपर्ने, सबैले घरबाटै फोहोर वर्गीकरण गर्दै फोहोर व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद हुमागाई, हेटौंडा उपमहानगरपालिकाका टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रव अधिकारी ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिका नवराज खतिवडा, शहरी स्वास्थ्य केन्द्र नकौलीको प्रतिनिधि प्रतिष्ठा कार्की, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका सचिव नवराज पौडेल लगायतको स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो । उनीहरुले आ–आफ्ना धारणा राख्दै तरकारी व्यवसाय र सरसफाई क्षेत्रको विकासका लागि सहकार्य आवश्यक रहेको बताए । रेडियो थाहाले जनसरोकारमा प्रत्यक्ष, परोक्ष रुपमा सामाजिक क्रियाकलापमा संलग्न हुँदै निरन्तर १८ वर्षदेखि समाचार, विचार मनोरञ्जनका विविध पाटाहरुमा आवाजविहीनहरुको आवाज बुलन्द पार्दै आइरहेको उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी