हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तथा हेटौंडा–४,स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको १६ औं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा ११ वटा स्वर्ण, ६ वटा रजत र ६ वटा काँस्यपदक प्राप्त गर्दै भुटनदेवी माविले उपाधि जितेको हो ।गत वर्ष सम्पन्न भएको प्रतियोगिताको उपाधि हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयले जितेको थियो ।

हेटौंडा–१६,हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले ६ वटा स्वर्ण, ६ वटा रजत र ७ वटा काँस्यपदक प्राप्त गर्दै उपविजेता बनेको छ । गत वर्ष दोस्रो भएको हेटौंडा–१०,स्थित तुल्सी मेहर मेमोरियल बोर्डिङ ६ वटा स्वर्ण पदक प्राप्त गर्दै तेस्रो भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ६ विधाका खेलहरु सञ्चालन भएको प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत छात्र/छात्रा भलिबल, कब्ड्डी, उसु, कराँते, तेक्वान्दो र एथ्लेटिक्सका खेलहरु सञ्चालन भएको उनले बताए ।

कराँते, उसु,तेक्वान्दो र एथ्लेटिक्स लगायतका खेलहरुमा प्रत्येक विधामा प्रथम हुने खेलाडीहरुले तथा अन्य खेलमा प्रदर्शनीको आधारमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए ।  यस्तै, मार्चपासमा प्रथम, दोस्रो र तेस्रो हुने समूहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।आधुनिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिमको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा आधुनिक माविका प्रधानाध्यापक राम सागर गुरागाईं लगायत अन्य विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी