कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएको जनाएको छ। प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भने, ‘कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ। यसमा मन्त्रालयको ध्यान गएको छ।’

यही कात्तिक २२ गते मध्यराति २ः१२ बजे खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ डोटीको ठाडागाउँका छ जनाको मृत्यु भएको थियो भने पाँच घाइते भए। आठ घर ध्वस्त भए।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार कर्णालीमा तीन लाख ७१ हजार एक सय २५ घर परिवार संख्या छ भने सुदूरपश्चिममा पाँच लाख ८७ हजार ५४ घर परिवार संख्या छ। त्यस्तै, कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ९४ हजार आठ सय ८९ र सुदूरपश्चिमको जनसङ्ख्या २७ लाख ११ हजार दुई सय ७० छ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले भने, ‘सरकारी, सामुदायिक निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाको विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्नु जरुरी छ।’

सो मन्त्रालयका सचिव दिनेशसागर भुसालले भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न सबैले साझा दायित्व पूरा गर्नुपर्ने बताए। ‘भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारालाई मूलमन्त्र बनाएर अगाडि बढ्न र यस अभियानमा सहयोग पुर्‍याउन पनि उनले सरोकारवालालाई आग्रह गरेका छन्।

नागरिक न्युजबाट साभारछ ।