बोटलसँग बीरुवा साटेपछि बीरुवा हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

हेटौंडा । ५६ औं विश्व वातावरण दिवसको अवसरमा टोल विकास नगर समन्वय समिति हेटौंडाको आयोजनामा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संस्थाले प्लाष्टिको बोतलसँग बीरुवा साट्ने कार्यक्रमको आयोजना गरेको छ । सोमबार हेटौंडा–८,स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा टोल विकास नगर समन्वय समितिले पशुपति नगर हेल्थ क्लब हेटौंडा–९ सँगको सहकार्यमा प्लाष्टिकको बोतल देउ, बीरुवा लिउ नामक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका २ सय जना मानिसहरुले प्लाष्टिकको बोतलसँग बीरुवा साटेको टोल विकास संस्थाका महासचिव शिवहरि दहालले जानकारी दिएका छन् ।

५ वटा बोतल वापत एउटा बीरुवा वितरण गर्नेगरी कार्यक्रमको आयोजना गरिएको संस्थाका महासचिव शिवहरि दहालले बताएका हुन् । कार्यक्रममा सहभागीहरुलाई बोतलको बदलामा आँप, लिची, अम्बा, कागती, तेजपत्ता लगायतको बीरुवाहरु दिएको महासचिव दहालले बताए । बीरुवासँग साटेर संकलन भएको प्लाष्टिकको बोतललाई नगर पालिकाले पुनःप्रयोगमा ल्याउनेगरी व्यवस्थापन गरेको उनले बताए । हेटौंडा उपमहानगरपालिकालाई प्लाष्टिक मुक्त नगर बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको उनले बताए । यस अघि वि.सं २०६२ सालमा हेटौंडालाई कालो प्लाष्टिक मुक्त हेटौंडा नगर बनाउन सफल भइसकेको टोल विकास संस्थाले अब हेटौंडालाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान चलाइरहेको उनको भनाई छ ।

हेटौंडा भित्रको सामुदायिको मानिसहरुमा वातवरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन, प्लाष्टिकबाट हुन सक्ने नोक्सानीको बारेमा बुझाउनका लागि बोतलसँग विरुवा साटेर सचेतना जगाएको उनको भनाई छ । यस अघि करिब ९ महिना पहिले क्रियशन नामक संस्थाले विभिन्न संंघ संस्थाहरुसँगको सहकार्यमा बालबालिका, ज्येष्ठ नागरिक, युवाहरुगरी करिब ६० जनाको सहभागितामा प्लाष्टिकको बोतलसँग बीरुवा साट्ने कार्यक्रमको आयोजना गरेको उनले बताए । उनका अनुसार भोलि मंगलबार जलवायु सचेतनाः समस्या र समाधनमा सामूदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल छलफल कार्यक्रम हुनेछ भने साँझ ४ बजेर ३० मिनेटमा हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम हुनेछ ।

टोल विकास संस्थाका अध्यक्ष धूर्व अधिकारीको सभाध्यक्षमा तथा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले टोल विकास संस्था फोहोर मैला व्यवस्थापन गर्ने कार्यमा लागिरहेको र विगत २२ वर्षको लामो समयदेखि संस्थाले यस्ता प्रकारको सचेतना मूलक कार्यक्रम गर्दै आएकोमा नगर प्रमुख लामाले खुशी व्यक्त गरेकी थिइन् । उनले आगामी वर्षबाट उपमहानगरपालिका मार्फत प्रत्येक घरमा बोट बीरुवा उपलब्ध गराउने कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

संस्थाका अध्यक्ष अधिकारीले संस्थाको सक्रियताबाट हेटौंडाको समग्र ठाउँको फोहोर मैला व्यवस्थापन गर्न सकिने बताएका छन् । उपमहानगरपालिका भित्रका ३७६ टोल विकास संस्थाले फोहोर मैला व्यवस्थापन, प्लाष्टिक नियन्त्रण र हरित नगर निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा ९ नम्बर वडा सदस्य कमला पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय टोल विकास संस्था, महिला समूह, युवा समूह र सामाजिक संंघ संस्थाहरुको उपस्थिति रहेको थियो ।