मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि मतपत्र बाजुरा आइपुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाजुरा हिमाली जिल्लाको सूचीमा रहेकोले निर्वाचन आयोगले हेलिकप्टरमार्फत् मतपत्र ढुवानी गरेको हो। नौ वटै पालिकाका ७० वटा मतदान स्थलकामा आवश्यक मतपत्र बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

बाजुरामा रहेका मतदाता संख्याको ५ प्रतिशत बढी मतपत्र आएको निर्वाचन अधिकारी नवगराज बस्नेतले बताएका छन्। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन्।

बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरी जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन्। ७० मध्ये जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करिब दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन्। ती मध्ये बाजुरामा ८ सय बढी म्यादी प्रहरी मात्रै भर्ना गरिएको छ।

नागरिक न्युजबाट साभारछ ।