हेटौंडा /  मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । आइतबार भएको अन्तिम क्वाटर फाइनल चरणको खेलमा विजयी हुँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो ।

बागमती–८ स्थित जनता माध्यमिक विद्यालयको  मैदानमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले पराजित गर्दै समीफाइनलमा प्रवेश गरेको हो ।

विभागीय टोली त्रिभुवनको तर्फबाट जिलेस्पी जंग कार्कीले पहिलो हाफको २६ औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको ८ मिनेटमा रास बुढाले एक गोल गर्दै अग्रतालाई कायम राखेका थिए । कम्जोर परिस्थतिमा देखिएको बागमती खेलकुद विकास समिति विरुद्ध दोस्रो हाफकै १८ औँ मिनेटमा फत्तेमान घलेले र ३० औँ मिनेटमा कमल थापाले समान १–१ गरेका थिए ।

खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान बन्न सफल भएका हुन् । सेमीफाइन प्रवेश गरेको आर्मीले फाइनल प्रवेशका लागि मंलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताको फाइनल खेल यही बिहिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।