हेटौंडा । हेटौंडाकै पहिलो सामुदायिक रेडियो रेडियो मकवानपुरले पवित्रा विश्वकर्मा र इन्दिरा न्यौपाने डल्लाकोटीलाई सम्मान गरेको छ । शनिबार हेटौंडामा आयोजित तीज विशेष कार्यक्रमको समारोहमा दलित महिला संघ मकवानपुर (फेडो)की अध्यक्ष पवित्रा विश्वकर्मा र ग्रामीण जीवनस्तर सुधार मञ्च (हाम्रो घर बालगृह) की सञ्चालक इन्दिरा न्यौपानेलाई यस वर्षको जागरुक महिला सम्मान प्रदान गरेको हो । रेडियो सञ्चालक समितिका अध्यक्ष आन्नदराम पराजुलीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा विश्वकर्मा र न्यौपानेलाई डोसल्ला ओढाएर १०/१० हजार रुपैयाँको नगदराशि र सम्मानपत्र प्रदान गरिएको छ ।
विश्वकर्माले न्याय र समानतामुलक समाजको अभियानमा हिँडेको ३० वर्षको अवधिमा सम्मानित भएकोमा खुसी व्यक्त गरिन् । ‘आफ्नै जिल्लाको सामुदायिक रेडियोबाट सम्मानित हुन पाएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गरिन् । अर्का सम्मानित व्यक्तित्व न्यौपानेले निस्वार्थ ढंगले अभिभावकविहीन बालबालिकाको सेवामा लागिरहँदा सम्मान मिलेकोमा खुसी व्यक्त गरिन् । सम्मानले निरन्तर यो कर्ममा लागिरहन हौलसा मिलेको उनको भनाई थियो । रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्मान र वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ ।
नगर प्रमुख लामाले नारीहरुको पर्व हरितालिका तीजलाई सभ्य तवरले मनाउनुपर्ने बताइन् । रेडियो मकवानपुरको आयोजना तथा लक्की ज्वेलर्स हेटौंडाको मुख्य प्रायोजनमा शनिबार हेटौंडामा भएको जागरुक महिला सम्मान तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा उनले चाडपर्वलाई खर्चिलो र भड्किलो नगरी सभ्य तरिकाले मनाउनुपर्नेमा सुझाव दिएकी थिइन् । कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश बल लामा, रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, थाहा नगरपालिकाका निवर्तमान उपमेयर खड्ग गोपाली, हेटौंडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का अध्यक्ष दामोदर गौतम, ८ का अध्यक्ष राम थापा, १६ का अध्यक्ष रामकृष्ण कोइराला, बकैयाका वडा अध्यक्ष गोपालबहादुर न्यासुर, भूमि आयोग मकवानपुर सदस्य कविन सांगामी, लक्की ज्वेलर्सका सञ्चालक अनिकेत ठाकुर, उनको माता रिकादेवी ठाकुरसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । लक्की ज्वेलर्सको मुख्य प्रायोजनमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, अल्फा पोलिक्लिनिक, सिद्धस्थली अस्पताल, शिवम् सिमेण्ट्स, ऋद्धिसिद्धि सिमेण्ट, केदारनाथ सुनचाँदी पसल लगायतको सहयोग र सहकार्य रहेको थियो । सांगीतिक प्रस्तुती क्रममा राम्रो नृत्य गर्ने अमृता दास, कविता न्यौपाने र ममता सुनारलाई लक्की ज्वेलर्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्