हेटौंडा । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ हेटौंडाले ‘पोलियो अब अन्त्य गरौं’ भन्ने नारासहित साइक्लिङ र्याली आयोजना गर्ने भएको छ। रोटरी इन्टरनेशनलले हरेक वर्ष अक्टोबर २४ तारिखमा पोलियो दिवस मनाउँदै आएको छ, र यही अभियानलाई सशक्त बनाउन हेटौंडामा विशेष कार्यक्रम तय गरिएको क्लबले जनाएको छ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रमेश प्रधानका अनुसार र्याली आगामी कार्तिक ७ गते (अक्टोबर २४), शुक्रबार बिहान ६:०० बजे सुरु हुनेछ। र्याली भिमसेन स्थान, मेनरोडबाट सुरु भई गाई कमाने, रंगशाला चोक, पुतलीबजार, चौघडा, भैरव रोड हुँदै रोटरी भवन हुप्राचौरसम्म पुग्नेछ।
क्लबले साइक्लिङप्रेमीहरूलाई उक्त र्यालीमा सहभागी हुन आग्रह गरेको छ। यसका लागि हिमालयन राइडर सोसाइटीका अध्यक्ष राजु थापा मगरलाई पनि सहभागीता सुनिश्चित गराउन अनुरोध गरिएको छ।
रोटरी क्लब अफ हेटौंडा सन् १९९२ (२०४९ साल) मा स्थापना भएको हो। स्वास्थ्य, शिक्षा, सरसफाइ र समुदाय विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको क्लबले यस वर्षको पोलियो दिवसमा साइक्लिङमार्फत जनचेतना फैलाउने प्रयास गरेको हो।
क्लबका अध्यक्ष प्रमेश प्रधानले भने, “पोलियोका विरुद्ध रोटरीको अभियान अन्तिम चरणमा पुगेको छ। यो सन्देशलाई अझ व्यापक बनाउने उद्देश्यले हामीले साइक्लिङ र्याली आयोजना गरेका हौं।”


















प्रतिक्रिया दिनुहोस्