द्वन्द्वताका सरकार र विद्रोही दुवै पक्षको निशानाकै कारण सुनसान नौमुलेले शान्ति प्रक्रियामा आएसँगै विकासमा छलाङ मारेको छ। त्यतिबेला मान्छेलाई दिउँसै हिँड्न सकस थियो। काम विशेषले हिँडिहाले दुवै पक्षको डरको सामना उस्तै थियो। गाउँ रित्याएर धेरैजसो त विस्थापित भए। हातमा गन्न मिल्ने सीमित गाउँले नौमुले बजार तथा गाउँमा बसे। त्यो पनि निकै पीडादायीका साथ। गाउँमा नयाँ मान्छे आउँदासमेत त्रसित हुनुपर्ने अवस्था थियो। द्वन्द्वको सुरुमै ठूलो घटना नौमुलेस्थित इलाका प्रहरी कार्यालयमा भयो। त्यस घटनामा परी ३२ जना प्रहरीले ज्यान गुमाए। मान्छेको बस्तीसमेत भेट्नै मुस्किल। उतिबेला शून्य गाउँहरू।

शान्ति स्थापनासँगै भने नौमुले निकै फेरिएको छ। अरू स्थानीय तहभन्दा फरक नामले परिचित छ। कर्णालीमै ‘हाइड्रो हब’ का रूपमा नौमुलेलाई लिने गरिन्छ। राष्ट्रिय लाइनमा दुईवटा विद्युत् आयोजना जोडिएका छन्। अन्य दुईवटा तयारी अवस्थामा रहेका छन्। नौमुले जटिबुटी उर्वर भूमि समेत रहेको छ। यहाँका नागरिकको प्रमुख आयस्रोत जटिबुटी रहेको छ। विकास गतिविधिदेखि सेवासुविधासम्म नौमुलेमै पुगेको छ।

नौमुले क्षेत्र अहिले व्यापारिक मात्र हैन; विकासका कतिपय गतिविधिमा उन्मुख हुँदै छ। नौमुलेमा सडक नपुगेको कुनै गाउँ छैन। सानातिना बजार नभएको ठाउँ छैन। किनमेलदेखि उत्पादन बिक्री समेत गर्ने थलो बनेको छ अहिले नौमुले। नौमुले गाउँपालिकाले वडा हुँदै बस्ती स्तरसम्म सरकारको प्रत्याभूति दिलाउन स्वास्थ्य शिविरदेखि सडक हुँदै खानेपानीका कार्यक्रम घरघरमा पुर्‍याएको छ।

विकट र द्वन्द्वग्रत क्षेत्रका रूपमा चिनिएको दैलेखको नौमुले क्षेत्र तत्कालीन ८ वटा गाविस मिलेर बनेको हो। जाजरकोटको समेत व्यापारिक केन्द्र मानिन्छ। द्वन्द्वपश्चात् आएको शान्तिस्थापनाले नौमुले क्षेत्रमा पुनः विकासको द्वन्द्व भयो। नौमुले बस्ती विकास, नौमुले स्वास्थ्य केन्द्र, पक्की पुलहरू र सडक क्षेत्र, भवन, खानेपानी, रोजगारका कार्यक्रम, कृषि कार्यक्रममा करोडौं लगानी सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएको छ। यो क्रम जारी छ।

विद्युत्मा अर्बौं रूपैयाँ लगानी नौमुलेमा विभिन्न कम्पनीले गरेका छन्। सुविधासम्पन्न प्रहरी भवन निर्माणदेखि अहिले आईएमी सेवादेखि एनएमबी बैंकसमेत नौमुलेमा रहेको छ। पहिले दैलेख सदरमुकाममै आएर गर्नुपर्ने काम अहिले नौमुलेमै हुने गरेसँगै स्थानीयमा खुसी छाएको छ। नौमुले गाउँपालिकाले विकासको पहिलो खुड्किलो सडक सबै वडामा पुर्‍याएको छ। विद्युतीकरणका लागि बजेट छुट्याएर काम भइरहेको छ। सबै वडामा विद्युत् पुग्ने गरी टेन्डर भइसकेको छ।

पहिले मुस्किलले वर्षमा एकपटक डाक्टर आउँथे। अहिले दुई जना डाक्टरले प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा बसेर सेवा दिइरहेका छन्। बेलाबेलामा विशेषज्ञ डाक्टरहरू पनि नौमुलेमै पुगेर सेवा दिइरहन्छन्। ‘स्वास्थ्य क्षेत्रमा निकै सहजता भएको छ’, नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रबहादुर शाहीले भने, ‘अहिले दुई जना डाक्टर साप नौमुलेमै बसेर सेवा दिइरहनुभएको छ। बेलाबेलामा विशेषज्ञ डाक्टर गाउँपालिकाकै खर्चमा बोलाएर सेवा दिइरहेका छौं।’

स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुर्‍याउने उद्देश्यले काम भइरहेको स्थानीय अगुवा हरि रानाले बताए।

गरिबी घटाउन, वातावरण जोगाउन, स्थानीयलाई आत्मनिर्भर बनाउन, खानेपानी, स्वास्थ्य, कृषि, वनलगायतका क्षेत्रको विकासका लागि गाउँपालिकाले काम गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए।

‘पूर्वाधार निर्माणमा गुणस्तर खोजेका छौं’, प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘अनुगमन म आफैं खटिएको छु।’

यसैगरी बस्ती विकासका लागि भन्दै नेपाल सरकारले विशेष बजेटअन्तर्गत नौमुले बजारका सडक ढलान (पिसिसी), विद्यालय निर्माण लगायतका काम गरेको थियो। अहिले लोहोरे खोलामाथि तीनवटा पक्की पुल बनाइसकिएको छ। जाजरकोट जाने सडकलाई वृद्धि विकास गर्न लागिएको छ। २३ किलोमिटर सडक दैलेख बजार नौमुलेसम्म नौमुले गाउँपालिकाले पहिलो प्राथमिकता दिएर काम गरेको छ।

जटिबुटी, जंगल, पानी, खनिज, अल्लोलगायतका स्थानीय साधनस्रोतको अधिक प्रयोग गर्ने, स्थानीय जनशक्तिलाई परिचालन गर्ने र लगानी लगानी भित्र्याएर समृद्ध पालिका बनाउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले बताए।

‘पालिकाले विकास निर्माणका काम थुप्रै गरेको छ।’ अध्यक्ष सुवेदीले भने, ‘खानेपानी, बिजुली, स्वास्थ्य सेवा र सडक गाउँगाउँ पुगेको छ।’

गोविन्द केसी

कर्णाली
नागरिक न्युजबाट साभार गरिएको हो ।