धादिङको गल्छी गाउँपालिका ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्नको आरोपमा पक्राउ परेका तिनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ।

धादिङको गल्छी गाउँपालिका ८ की ४७ वर्षिया सरस्वती पनेरु पण्डित, उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका १४ घर भई हाल गल्छी ८ बस्ने ३० वर्षिय किरन रानालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए अनुसार गएको बुधबार राती करिब ११ः४५ बजे गल्छी कटलपौवाकै २७ वर्षीय मगरमाथि छुरी प्रहार भएको हो ।

निवुवाबोटेमा सरस्वती पण्डितले सञ्चालन गरेको सानदार होटल एण्ड लजमा विनोदले खाजा खाएको पैसाको विषयमा विवाद भएपछि होटल सञ्चालिका पण्डितले छोरा निरजलाई बोलाएको, निरजले आफ्नो साथी किरण राना मगरलाई लिएर गई विनोदलाई मुक्का प्रहार गरेको हो ।

पछि निरजले आफ्नो साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी गम्भिर घाईते बनाएको हो।

घाईते भएका विनोदको काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा सोही राती १ः४५ मा मत्यु भएको एसपी मिश्रले बताएका हुन् ।

युवकको ज्यान गएपछि आफन्त र आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि दोषीमाथि कारबाहीको माग गर्दै गल्छी–त्रिशूली सडकखण्ड अवरूद्ध पारेर विरोध जनाएका थिए ।

होटलमा, होटल सञ्चालिकाको मोटरसमेत तोडफोड गरेर आगजनीको प्रयास समेत गरेका थिए ।

आक्रोशित भीडबाट थप क्षति हुन नदिन प्रहरीले घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा प्रयोग भएको छुरा घटना स्थलको ३० मिटरको दुरीमा त्रिशुली नदि किनारबाट बिहान फेला पारी बरामद गरेको र
पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दामा धादिङ अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भईरहेको बताए ।

सरस्वती पनेरु पण्डितले युवतीहरुलाई डर, त्रास र प्रलोभनमा पारी यौनधन्दामा लगाई मानव वेचविखन गरेको उजुरीको आधारमा मानव वेचविखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तस्वीर: मनिष श्रेष्ठ