वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा ९एमाले० ले गरेको निर्णयका बारेमा छलफल भयो ।”

वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उहाँले स्पष्ट पार्नुभयो । “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।”

तत्कालीन नेकपा रहँदा आफूहरु एकै ठाउँमा भएको जनाउँदै उहाँले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताउनुभयो । “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरुका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन ।”

बैठकमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । तत्कालीन नेकपामा उहाँहरु सचिवालय सदस्यका रूपमा रहनुभएको थियो ।
–––
–––रासस

फाइल तस्विर