हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालको निर्देशकमा डा.रामचन्द्र सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा  वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटालाई अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्  ।सोमबार सापकोटालाई निर्देशकमा नियुक्त गर्दै औपचारिक रुपमा नियुक्तिपत्र प्रदान गरिएको छ ।

नव नियुक्त निर्देशक डा.सापकोटालाई  उपकुलपति डा. प्रदिप ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्  ।  स्वास्थ्यमन्त्री थापाले  डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने धारणा राखेका छन् हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताए ।

चितवनबासी वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौंडा अस्पतालका नि. निर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह (MBBS) र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर (MS Orthopedics) अध्ययन पूरा गरेका डा. सापकोटा दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका छन् । नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहने बताए । सबैको विश्वास जित्ने गरी काम गर्नु नै अफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे र डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरू उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्की र प्रशासन प्रमुख अमर अधिकारीलगायतको सहभागिता रहेको थियो ।