क्यान्सरग्रस्त यामबहादुर विकको अहिले कठिन समय चलिरहेको छ । ओछ्यानबाट ‘म बाँच्न चाहान्छु” भनिरहनुभएका ४१ वर्षीय विकले जीवनको याचना गरिरहनुभएको छ । काठेखोला गाउँपालिका–५ का उहाँ क्यान्सरले गाल्दै लगेपछि नौ महिनादेखि ओछ्यान पर्नुभएको हो । जस्ताले बारेको छाप्रोमा रोगले थलिएको शरीर लिएर विकले कष्टपूर्ण दिनहरु काटिरहनुभएको छ । एकातिर बाँच्ने रहर, अर्कातिर उपचारमा अर्थाभाव । यस्तो पीडादायी स्थितिबाट विक गुज्रिरहनुभएको छ । क्यान्सरको महँगो उपचार के गरी थेग्ने ? विकलाई कसरी बचाउने ? निरुपाय छन्, परिवारजन । विककी श्रीमती अमृताका अनुसार उपचारमा अहिलेसम्म रु २० लाख बढी खर्च भइसकेको छ । “किमो चढाउन डाक्टरले बोलाएको दिन कटिसक्यो पैसा नभएर जान सकिएको छैन”, उहाँले रुँदै भन्नुभयो, “भएको सम्पत्ति, गरगहना उपचारमै गयो ।” दुवैमा सात वर्ष रोजगारी गरेर घर फर्कनुभएका विकलाई दुई वर्षअघि भक्तपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको थियो । पहिले मूत्रनलीमा ट्युमर देखिएको र पछि शरीरमा फैलिएर क्यान्सरको रुप लिएको अमृताले बताउनुभयो । “ट्युमर भएको छ भनेपछि शल्यक्रिया गरायौँ, केही समय निको पनि भएको थियो, पछि फेरि रोगले समातेपछि परीक्षण गर्दा क्यान्सर थाहा भयो”, उहाँले भन्नुभयो । अहिलेसम्म विकलाई दुई वटा किमो दिइसकिएको छ । पहिलो किमो चढाएपछि आयुर्वेद उपचारतिर लागेपनि त्यसले उल्टो झन् शरीर, खुट्टा सुन्निने समस्या निम्ताएको अमृताको भनाइ छ । आयुर्वेदले नभएपछि फेरि अस्पतालमै उपचार सुरु गरिएको छ । विकलाई भक्तपुर क्यान्सर अस्पतालमै गत महिना दोस्रो किमो दिइएको थियो । चिकित्सकले २० दिनपछि अर्को किमोका लागि बोलाएकोमा पैसा नभएकै कारण जान नसकिएको अमृताले बताउनुभयो । किमोका लागि एकैपटकमा रु एक लाख बढी खर्च हुने भएपछि परिवार र आफन्तजन अत्तालिएका छन् । अमृतालाई श्रीमान्लाई केही भइहाले आफ्नो र छोराछोरीको विचल्ली हुने डरले सताएको छ । “आज सञ्चो होला, भोलि सञ्चो होला भन्दाभन्दै बिमारले झन् गाल्दै गयो, अहिले त शरीर पनि हलन चल भएको छ”, अमृताले भन्नुभयो, “डाक्टरले त निको हुँदै जान्छ, नआत्तिनु भन्नुभएको छ, तर उपचारमा जाने खर्च छैन ।” उहाँले आफन्त, दाजुभाइ र छरछिमेकमा आर्थिक सहयोगका लागि हात थापेको बताउनुभयो । यसअघि करलिम समाज जापानमार्फत रु तीन लाख र बिहुँकोट समाज जापानबाट रु एक लाख बढी सहयोग आएको उहाँको भनाइ छ । गतवर्ष सरकारको विपन्न नागरिक औषधोपचार कोषबाट रु एक लाख रुपैयाँ सहयोग पाएको अमृताले बताउनुभयो । क्यान्सरका बिरामीलाई औषधि खर्चबापत सरकारले दिने मासिक रु पाँच हजार दिलाउन पनि प्रक्रिया अघि बढेको छ । प्रवासमा रहेका नेपालीबाट पनि सक्दो आर्थिक सहायताका लागि पहल भइरहेको बागलुङ समाज दक्षिण कोरियाका पूर्वसचिव सज्जनकुमार सिँहले बताउनुभयो । विक परिवारको अवस्था सारै दर्दनाक भएकाले गाउँपालिकासहित राज्यका निकायले पनि सहयोगको हात फैलाउनुपर्ने उहाँको भनाइ छ । “नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने हो, विपन्नलाई निःशुल्क उपचार दिलाउने सरकारको नीति पनि छ, तर कार्यान्वयन हुँदैन”, उहाँले भन्नुभयो, “यामबहादुर विक जस्ता कैयन व्यक्ति आर्थिक अवस्था कमजोर भएकै कारण समयमा उपचार नपाइ मर्नुपर्ने स्थिति छ ।रासस



















प्रतिक्रिया दिनुहोस्