हेटौंडा । हेटौंडा–८,कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लिग चरणको दुई खेल खेलेको कमाने राइडर्सले १ जीत निकालेको छ भने कमाने इप्लानेटर ब्लास्टरले २ जीत निकालेको छ । कमाने क्रिकेट क्लबको आयोजनामा तथा हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य प्रयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सकिँदा कमाने राइर्डसले २ खेल मध्ये एक जीत निकालेको भने एक हार व्यर्होरेको छ । यस्तै, कमाने इप्लानेट ब्लास्टरले अपराजित यात्रालाई कायमै राखेको छ ।
सोमबार भएको पहिलो खेलमा कमाने राइडर्सले कमाने थर्ड आइ जापानलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको कमाने थर्ड आइ जापानले १४ ओभर २ बलमा ८६ रन बनाउँदै सबै विकेट गुमाएको थियो । थर्ड आइ जापानका लागि विशेष विक्रम थापाले २५ बलमा २६ रन, गोकुल चौलागाईंले १० बलमा १९ रन र उत्सर्ग चौलागाईंले ६ बलमा ११ रन बनाएका थिए । बलिङतर्फ प्रविन घिमिरेले ३ विकेट, विष्णु राउतले २ विकेट र समीर चौलागाईंले १ विकेट लिएका थिए ।
ज्वाफी व्याटिङ्मा उत्रिएको कमाने राइडर्सले ९ ओभर ४ बलमा १ विकेट गुमाउँदै कमाने थर्ड आइले दिएको ८७ रनको लक्ष्य भेट्टाएको थियो । कमाने राइडर्सबाट नवी आल्मले १३ बलमा ३५ रन, विष्णु राउतले ३२ बलमा ३२ रन र काशपल अधिकारीले १३ बलमा ११ रन बनाएका थिए । यता कमाने थर्ड आइ जापानबाट प्रज्जवल पोखरेलले मात्र १ विकेट लिन सके । खेलको म्यान अफ द म्याच कमाने राइडर्सका विष्णु राउत घोषित हुँदै १ हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गरेका छन् ।
यस्तै, सोमबारै भएको दोस्रो खेलमा कमाने इप्लानेट ब्लास्टरले कमाने रोयल्सलाई ५ विकेटले हराएको छ । पहिले व्याटिङ गरेको कमाने रोयल्सले निर्धारित २० ओभरमा ९ विकेटलको क्षतिमा १ सय ३३ रन जोड्न सफल भएको थियो । कमाने रोयल्सबाट गौरव खड्काले ३३ बलमा ४५ रन, सुरज भट्टराईले २० बलमा २३ रन र निश्चल रोक्काले १३ बलमा २० रन बनाएका थिए । बलिङतर्फ कमाने इप्लानेट ब्लास्टरबाट विजय घलानले ३ विकेट, दिप्सन घलानले २ विकेट र सरोज यादवले २ विकेट लिएका थिए ।
जवाफी व्याटिङ गरेको कमाने इप्लानेट ब्लास्टरले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १ सय ३४ रनको लक्ष्य भेट्टाएको थियो । विजय घलानले २० बलमा ३४ रन, युविन बुढाथोकीले २३ बलमा ३३ रन र रिशव चौधरीले १८ बलमा २८ रनको योग्दान दिएका थिए । बलिङतर्फ कमाने रोयल्सबाट भुवन थापाले सर्वाधिम ३ विकेट लिएका थिए । प्रेम क्षेत्री र निश्चल रोक्काले समान १÷१ विकेट मात्र लिएका थिए । खेलको म्यान अफ द म्याच इप्लानेटका विजय घलान घोषित भएका छन् । उनले १ हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत भोलि मंगलबार लिग चरणको २ खेलहरु सञ्चालन हुनेछ । पहिलो खेलमा कमाने थर्ड आइ जापान र कमाने एक्सपर्ट भिजन–११ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कमाने इप्लानेट ब्लास्टर र कमाने लायन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५/५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्