पर्सा । भंसार छलेर ल्याईएको सामान तथा औषधीहरु लोड रहेको ट्रकसहित बाराका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका-२ बस्ने ३३ वर्षिय नसरूदीन मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डबाट प्रदेश नं.२-०३-००१ ख ०१२९ नम्बरको ट्रकसहित उनलाई पक्राउ गरेको हो ।

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी पोखरा लैजाँदै गरेको सूचनाको आधारमा खटिएको चेकिङ टोलीले ट्रक चेकजाँच गर्ने क्रममा ६० लाख बराबरको सामानहरु बरामद गरेको हो ।
प्रहरीले ती सामान, ट्रक र पक्राउ परेका मियाँलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जानकारी दिएको छ ।