हेटौंडा । हेटौंडामा १६ औं संस्करणको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन ८ गतेबाट सुरु हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तथा हेटौंडा–४,स्थित आधुनिक राष्ट्रय माध्यमिक विद्यालयको व्यवस्थापनमा फागुन ८ गतेबाट फागुन १० गतेसम्म नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको हो ।
आइतबार हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले शाखाका अधिकृत हरिचन्द्र सापकोटाको हस्ताक्षरसहितको सूचना जारी गर्दै ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बारेमा जानकारी गराएका छन् । आधुनिक माध्यमिक विद्यालयका खेलकुद शिक्षक तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक राजाराम पोखरेलले प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा भित्रका सामुदायिक तथा संस्थागत विद्यायलाई आव्हान गरेका छन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ६ विधाका खेलहरु सञ्चालन हुने संयोजक राजाराम पोखरेलले बताए । प्रतियोगिता अन्तर्गत छात्र/छात्रा भलिबल, कब्ड्डी, उसु, कराँते, तेक्वान्दो र एथ्लेटिक्सका खेलहरु सञ्चालन हुने उनले बताए । गत वर्ष सम्पन्न भएको १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयले जितेको थियो भने हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल स्कूल उपविजेता बनेको थियो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय तृतीय स्थानमा परेको थियो ।
गत वर्षको रनिङ्ग शिल्ड प्रतियोगितामा कूल ३८ वटा सामूदायिक र संस्थागत विद्यालयबाट विद्यार्थीको सहभागिता रहेको थियो । नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक पोखरेलले बताए ।















प्रतिक्रिया दिनुहोस्