उपाधि विजेता चुरियामाई–५ को टिमको सामूहिक तस्बीर ।

गौरिटार । तेस्रो संस्करणको १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक चुरियामाई–५ ले जितेको छ । हेटौंडा–६,स्थित गौरिटार रंगशालामा सोमबार भएको फाइनल खेलमा साविक चुरियामाई–६ लाई १–० गोलले हराउँदै साविक चुरियामाई–५ ले उपाधि जितेको हो । साविक चुरियामाई–५ को किशन थापा मगरले निर्णायक गोल गरेका छन् । प्रतियोगिताको उपाधि विजेता चुरियामाई–५ को टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता चुरियामाई–६ को टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

उपविजेता चुरियामाई–६ को टिम ।   हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले विजेता र उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । खेलको म्यान अफ द म्याच किशन थापा मगर घोषित भएका छन् हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै चुरियामाई–५ का किशन थापा मगरले ५ हजार रुपैयाँको नगद र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट फरवार्ड चुरियामाई–६ का विश्वास भ्लोन, उत्कृष्ट डिफेन्डर चुरियामाई–५ का सुरेश वाइबा, उत्कृष्ट मिडफिडर चुरियामाई–५ का उज्जवल डिम्डुङ, उत्कृष्ट गोलरक्षक चुरियामाई–५ का सन्देश थिङ र उत्कृष्ट प्रशिक्षक चुरियामाई–५ का विजय लोप्चन घोषित भएका छन् । उनीहरुलाई जनही २ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।

१५ नम्बर वडा कार्यालयको आर्थिक प्रयोजनमा तथा वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ७ वटा टिमहरुको सहभागिता रहेको थियो । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा चु्रियामाई–५ ले ३–१ गोल अन्तरले टाइब्रेकरमा चुरियामाई–३ लाई पराजित गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा चुरियामाई–६ ले १–० गोलले चुरियामाई–७ लाई पराजित गरेको थियो । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेता बनेको थियो । वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षमा समापन समारोह भएको हो । । आफ्नो वडाभित्र खेलाडी उत्पादन गर्न र १५ नम्बर वडाको टिम तयार पार्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष नेगीले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी