हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाले १७ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि २ अर्ब ९० करोड ३१ लाख रुपैयाँको बजेट नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्षको बजेटमा वृद्धि भएर आएको छ ।

उपमहानगरले निर्माणाधीन एकिकृत बसपार्क टनल निर्माण सम्पन्न गर्नका लागि ४ करोड, सडक बोर्ड नेपालसँगको साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ५० लाख, पदमपोखरीको मुख्य सडक विस्तार, वृहत खानेपानी चक्रपथ योजनाका लागि ७ करोडको बजेट विनियोज गरिएको बताइएको छ । स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि आन्तरिक स्रोतबाट २ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीयतहको गोल्डकप, उपमेयर महिला तथा पुरुष भलिबल, मेयरकप रनिङ्ग शिल्ड शिल्ड लगायतका प्रतियोगिता गर्नका लागि २ करोड ५५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।