। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ । कांग्रेसको ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै एक महिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन लक्षित एक महिने अभियान कार्यक्रमको खाका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गर्दै गरेको जानकारी दिए ।

७ सय ५३ वटै पालिकामा विशेष अभियान सुरु गरिने
–जिल्लामा केन्द्रीय कमान्डर तोकिने

‘एक महिने निर्वाचन लक्षित अभियानका लागि तयारी भइरहेको छ, दुई जना महामन्त्रीले कार्यक्रमको खाका बनाउँदै हुनुहुन्छ, सो अभियानमार्फत कांग्रेस स्थानीय तहका वडा हुँदै घरघरमा पुग्नेछ,’ कांग्रेस मुख्यसचिव पौडेलले राजधानीसँग भने ।

पौडेलका अनुसार स्थानीय तहको निर्वाचन लक्षित विशेष अभियानमा कांग्रेसले केन्द्रीय तहका नेतालाई जिल्लाको कमान्डर तोक्नेछ । यसैगरी, पार्टीका तर्फबाट प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा सम्बन्धित स्थानबाट प्रतिनिधित्व गर्ने नेतालाई समेत कांग्रेसले अभियानमा खटाउनेछ ।

यस्तै, पार्टीका जिल्ला र प्रदेश तहमा रहेका नेतासमेत विशेष अभियानभर स्थानीय तह केन्द्रित हुनेछन् । कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयारी समितिसमेत गठन गर्दै छ । त्यसका लागि सभापतिले आवश्यक परामर्श गरी समिति गठन गर्ने कांग्रेसको कार्यसम्पादन समितिको निर्णयमा उल्लेख छ ।

कांग्रेसले एक महिले अभियानमा पार्टीका सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्थालाई सम्पूर्ण रूपले ऐक्यबद्ध भएर सहभागी हुन निर्देशनसमेत गरिसकेको छ ।

अभियानको मिति भने केही जिल्लामा जिल्ला अधिवेशन जारी रहेकाले ती जिल्लामा नेतृत्व चयन सकिएपछि लगत्तै घोषणा हुने कांग्रेसले जनाएको छ । यसअघि २० फागुनबाट २० चैतसम्म अभियान सञ्चालन गर्नेगरी मिति तय भएको थियो । तर, केही जिल्लामा जिल्ला नेतृत्व चयन हुन बाँकी रहेका कारण चैत पहिलो साताबाट मात्रै अभियान सुरु गर्ने कांग्रेसको तयारी छ ।

अभियानमार्फत कांग्रेसले स्थानीय तहका वडा तथा टोलमा रहेका आफ्ना नेता कार्यकर्तालाई निर्वाचन केन्द्रित गर्ने र अन्य पार्टीका नेताकार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराउने लक्ष्य राखेको छ । कांग्रेसका क्रियाशील सदस्य मात्रै देशभर गरेर हालसम्म ९ लाखभन्दा बढी छन् ।

यो समाचार राजधानिबाट साभार गरिएके हो