खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाको रैथाने बाली सिमी र चिनोको चामल खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले अन्य क्षेत्रमा लगेर बिक्री गर्न हुम्लाको अर्गानिक उत्पादन सिमी र चिनोको चामल खरिद गर्ने भएको हो ।
सो कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ती बाली खरिद गर्ने भएको जानकारी दिनुभयो । किसानबाट खरिद गर्नका लागि सूचनासमेत सार्वजनिक भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारीको स्थानीय अन्न बालीको मूल्य निर्धारण समितिले दुवै बालीको खरिद मूल्य पनि निर्धारण गरिसकेको छ जसमा सिमी प्रतिकेजी १८० रुपियाँ र चिनोको चामल प्रतिकेजी १७० रुपियाँ निर्धारण गरेको छ ।यस वर्ष हुम्लाबाट २०० क्विन्टल सिमी र चिनोको चामल जति आए पनि खरिद गर्न सकिने शाखाले जनाएको छ । शाखाले खरिद गरेर जम्मा गरेको सिमी र चिनोको चामल हवाई मार्गबाट सुर्खेत निकासी गर्नेछ । स्थानीय किसानले रैथाने बाली खरिद कार्यक्रम राखेर कृषि पेसालाई महत्त्व दिएको बताएका छन् । यसअघि किसानले उत्पादन गरिएका बालीमध्ये सिमी केही बिक्री भए पनि चिनो भने थोरै मात्रामा बिक्री हुने गथ्र्याे ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो