हेटौंडा । नेकपा माओवादी निकट प्रेस संगठन प्रेस सेन्टर नेपालको टोली सार्वजानिक सेवा प्रसारण नेपालमा पुगेका छन् । ‘सरकारी, निजी मिडिया हाउसमा पुग्ने अभियान’ अन्तर्गत सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) मा प्रेस सेन्टर नेपालमा टोली पुगेका हुन् । आइतबार नेपाल टेलिभिजन र रेडियो नेपाललाई समेटेर सञ्चालन भइरहेको पिएसबीमा पुगेका प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा पुगेका टोलीले पीएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टसँग भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा अध्यक्ष गिरीले नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण मोडेलमा सञ्चालन भए पनि न्यूजरुममा अपेक्षित सुधारको अनुभूति नहुनु, सत्तापक्षका समाचारलाई बढी प्राथमिकता दिइनु र प्रतिपक्ष वा अन्य समाचारलाई बेवास्ता गरिनुजस्ता जनगुनासा रहेको जीकिर गरेका छन् । अध्यक्ष गिरीले सरकारी मिडिया कुनै सरकारको नभई राज्यको भएकोले सम्पादकीय नीति, सामग्री छनोटदेखि कर्मचारी र पत्रकारप्रतिको व्यवहार निष्पक्ष हुनुपर्नेमा कुरामा जोड दिनुभएको छ ।
उनले सरकार निजी मिडियालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गरिरहेका बेला सरकारी मिडियामा कार्यरत पत्रकारलाई अझैसम्म सामाजिक सुरक्षामा समावेश नगरेको बताउँदै चिन्ता व्यक्त गरेका छन् । उक्त कुराको निष्कर्ष निकाल्नका लागि तत्काल पहल गर्न अनुरोध गरेका थिए । भेटघाट कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खड्का र महासचिव मनोज घर्तिमगरले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारको मुखपत्रमा नगरेर, जनउत्तरदायी सम्पादकीय आचारसंहितामा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस सेन्टरका पदाधिकारीहरुले दिएको सुझावलाई बुझ्दै डा. विष्टले समाचार सामग्रीमा कुनै किसिमको विभेद नगरेको दावी गरेका छन् । उनले कतै कमजोरी देखिएको भए सच्याउने आश्वासन दिलाएका थिए । उनले समाचार संवाददातालाई राजनीतिक पूर्वाग्रहका आधारमा नहटाइएको र पत्रकारको सामग्रीलाई प्राथमिकता दिने अभ्यास भइरहेकामा जोड दिएका थिए । यस्तै, सामाजिक सुरक्षालगायतका माग पूरा गर्न आफैँ लागिरहेको र चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका थिए ।
प्रेस सेन्टर नेपालको टोलीमा अध्यक्ष गिरीसँगै उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव मनोज घर्तिमगर, उपमहासचिव बुद्ध लोप्चन, सचिव सुरेन्द्र चालिसे, नवराज दाहाल, प्रेस सेनटर मकवानपुरकी निवर्तमान अञ्जली थापा, उपत्यका प्रदेश अध्यक्ष लोकेश लिम्बु, मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे र पिएसबी शाखा अध्यक्ष अर्जुन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्