वाग्मती प्रदेश सांसद एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले उपभोक्ताहरुले जोगाएको र हुर्काएको सामुदायिक वनहरु अब उपभोक्तको लागि आयआर्जन र उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ ।
हेटौंडा स्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको ३३ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा रहेको सामुदायिक वन उपभोक्ता समुहहरुमा दलित, जनजाती, पिछडिएका बर्गहरुको सहभागिता रहेकोले समृद्धीको लागि हरित उद्यमहरुसंग उपभोक्तालाई जोड्नुपर्ने सांसद पाठकको भनाई रहेको छ ।
महिलाहरुको आर्थिक विकास, नेतृत्व विकास र उद्यमविकासको अबधारणा अनुरुप समुहहरुले कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
वनमा खेर जाने पात, निगालो, बाँस र ढलापडा काठहरुबाट उद्यम गर्न सकिने सांसद पाठकले जनाउनुभयो । यसको साथै वनमा लेमनग्रास, मसला, तेजपत्ता जस्ता बिरुवा रोपेर उक्त बिरुवाहरुको पातबाट तेल निकालेर पनि आयआर्जन गर्न सकिने र केही समुहहरुले गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
अबको यात्रा भनेको समृद्धीको यात्रा रहेकोले सबैभन्दा सरल तरिकाले समृद्ध बन्नको लागि समुहहरुको नेतृत्वले ध्यान दिन उहाँले सुझाउनुभयो ।
यसको साथै सामुदायिक वन समुहहरुमाथी बाहिरी हस्तक्षेप बढेको भन्दै यस्ता हस्तक्षपहरुको कारण सामुदायिक वनले ब्यबस्था परिबर्तनको सुन्दर पक्ष संघियताको महसुस गर्न नपाएको उहाँको भनाई रहेको छ ।
सामुदायिक वनमा तेहेरो कर लगाइएको भन्दै उक्त निर्णय खारेज गर्नुपर्ने र एकोहोरो कर प्रक्रिया अगाडिबढाउनुपर्ने सांसद पाठकको भनाई रहेको छ । समुहका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका पुर्ब अध्यक्षहरु, जनप्रतिनीधिहरु लगाएतको आतिथ्यता रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्