बागमती /  सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे ।

यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके ।

खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए ।

उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।