हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडास्थित शान्तिपार्क चौघडामा वृक्षारोपण गरिएको छ । शनिबार बिहान एक समारोकाबीच रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ मकवानपुरले संयुक्त शान्तिपार्क चौघडामा वृक्षारोपण गरिएको हो । हेटौंडा–६ का वडाध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रमका लागि ६ नम्बर वडा कार्यालय र प्रभातफेरी टोल विकास संस्थाको सहयोग रहेको थियो ।
प्रभातकालीन टोलको पानी टयाङ्कीमा रोटरी चौतारी निर्माणको लागि बर पिप्लको बोट रोपिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी गराएका छन् । क्लबले बिरुवाले उचित स्याहार पाउनेगरी र संरक्षण हुनेगरी बिरुवा रोपेको अध्यक्ष श्रेष्ठले बताए । क्लबका निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवालका अनुसार १ वटा बर, १ वटा पिप्ल, १५ वटा एभोकाडो, १० वटा लिच्ची, ४ वटा अमला, ५ वटा तेजपत्ता र २ वटा निमको बोट गरी ३६ वटा बिरुवा रोपिएको थियो । अन्य ५० वटा बिरुवा समेत रोपिएको बताइएको छ ।
शनिबार नै हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा पनि रोटरी क्लब हेटौंडाले वृक्षारोपण गरेको छ । रोटरी क्लब अफ मकवानपुर रोटरी क्लब अफ हेटौंडा समाजिक कार्यक्रममा सक्रिय संस्था हो । यस अघि रोटरीले मनहरी गाउँपालिकाको वृक्षारोपण कार्यक्रमा रोटरी र रोट्रयाक्टका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्