![](https://ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
![](https://ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
![](https://ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ। डुङ्गेश्वर गाउँपालिका–४ व्युरा खेतमा निर्माण भइरहेको विद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ।
तीन वर्षभित्र निर्माण सकेर विद्युत उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना २०७२ देखि सुरु भएको थियो। आयोजनाको हेडवक्स र पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ भने विद्युत गृह निर्माण हुँदै गर्दा काम रोकिएको छ।
विद्युत आयोजनाको प्रवद्र्धक कम्पनी रारा हाइड्रो कम्पनीका अध्यक्ष नर्सिह मल्लले निर्माण सम्पन्न हुन लागेको आयोजना लगानी अभावमा रोकिएको बताए। ‘आयोजना निर्माणका लागि अहिलेसम्म ५५ करोड रुपैयाँ लगानी भइसकेको छ,’ उनले भने, ‘थप १० करोड रुपैयाँ जुटाउन नसक्दा काम अघि बढ्न सकेको छैन्।’
विद्युत आयोजनामा एभरेस्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरूको ३० प्रतिशत रकम लगानी भएको छ। अध्यक्ष मल्लका अनुसार आयोजनामा नौ सय मिटर क्यानल निर्माण सम्पन्न भएको छ। एक हजार ४४० मिटर पाइप लाइन बिछ्याउने काम पनि सम्पन्न भएको छ भने दुई हजार सात सय मिटर कुलो निर्माण पनि भइसकेको छ।
‘विद्युतगृह निर्माणको काम पनि आधा सकिएको छ, अब इलेक्ट्रोमेकानिकलका कामहरु मात्रै बाँकी छन्,’ उनले भने, ‘लगानी जुटाउन सकेको भए चालू आर्थिक वर्षभित्रै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्नसकिन्थ्यो।’
अध्यक्ष मल्लका अनुसार सुरुमा सरकारले ३३ केभी प्रसारणलाइन बिस्तार नगर्दा आयोजनाको काम सुस्त भयो। लगत्तै कोरोना महामारीका कारणले लगानी जुटाउन समस्या भयो। ‘कोरोनाका कारणले हामी आर्थिक संकट व्यहोर्न बाध्य भयौं,’ लगानीकर्ता मंगल विश्वकर्माले भने, ‘लगानी सहकार्यका लागि विभिन्न सरकारी तथा निजी क्षेत्रसँग छलफल गरिरहेका छौं, कहींबाट लगानी जुटाउन सकेका छैनौं।’
एक सयभन्दा बढीले ५० हजारदेखि पाँच लाखसम्मको सेयर खरिद गरेका छन्। लगानीकर्ताले बैंकको ऋण बढ्दै गएको र थप लगानी जुटाउन नसकेको बताएका छन्। विद्युत आयोजनामा डुंगेश्वर गाउँपालिकाले २५ लाख रुपैयाँ लगानी गरेको छ। ‘आफ्नै पालिकाभित्र निर्माण भइसकेको आयोजनामा लगानी गरेर जनतालाई सस्तोमा विद्युत उपभोग गर्न दिने नीति लिएका थियौं,’ अध्यक्ष नगेन्द्र मल्लले भने, ‘प्रवद्र्धक कम्पनीले लगानी जुटाउन नसक्दा आयोजनानै अलपत्र पर्ने अवस्थामा छ।’
आयोजनाले विद्युत प्राधिकरणसँग सुक्खा मौसममा प्रतियुनिट .० रुपैयाँ र वर्षातको समयमा ४.८० रुपियाँका दरले खरीद बिक्रीको सम्झौता गरेको छ। आयोजनाबाट वार्षिक ६ करोड ६१ लाख ४५ हजार रुपियाँ आम्दानी हुने कम्पनीले जनाएको छ।
प्रदेश सरकारसँग लगानी प्रस्ताव
आयोजनाले कर्णाली प्रदेश सरकारसँग १० करोड रुपैयाँ बराबरको सेयर लगानी गर्न प्रस्ताव गरेको छ। लगानीकर्ताहरूले उत्पादनको अन्तिम चरणमा पुगेको आयोजना लगानी अभावमा रोकिएको भन्दै अब आवश्यक पर्ने १० करोड रुपैयाँ लगानी गर्न प्रदेश सरकारसँग प्रस्ताव गरेको हो। ‘गत भदौमै लगानी सहकार्यका लागि प्रदेश सरकारसँग प्रस्ताव आव्हान गरेका छौं,’ सञ्चालक शंकरलाल बैद्यले भने, ‘सरकारले सहयोग गरिदिए लगानीकर्ता, सेयर सदस्यसँग बैंकको लगानी पनि जोगिनुका साथै सरकारलाई पनि फाइदा हुने भएकाले प्रस्ताव गरेका हौं।’
प्रदेश सरकारले भने विद्युत उत्पादनपछि मात्रै लगानीका बारेमा निर्णय लिने बताएको छ। ‘हामीले पहिले लगानी जुटाएर विद्युत उत्पादन गर्नुहोस्। त्यसपछि मात्रै सेयर खरिद गर्न सकिन्छ भन्ने जवाफ दिएका छौं,’ प्रमुख सचिव राजकुमार श्रेष्ठले भने।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्