सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर उत्खननमा निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ।

मुलुकभित्रका खानीको उत्खनन गर्दै बहुमूल्य रत्न आभूषणको प्रशोधन गर्दै निकासी बढाउन सरकार प्रतिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले बताएका हुन्। सचिव पोख्रेलले सरकारको नीति नै निजी क्षेत्रसँग सहकार्य वृद्धि गर्दै उत्पादन तथा निकासी वृद्धि गर्ने रहेकाले सहकार्यका लागि आग्रह समेत गरेका छन्।

नेपाल रत्न तथा आभूषण संघको १७औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै सचिव पोख्रेलले अन्तरमन्त्रालय तथा निकायबीच समन्वयको अभावले रत्न तथा आभूषण क्षेत्रलाई सरकारले पर्याप्त सम्बोधन र सहजीकरण गर्न नसकेको स्वीकार गर्दै आउँदा दिनमा यसलाई सुधार गर्दै अघि बढ्ने बताए। उनले भने, ‘जन्मदेखि मृत्यु संस्कारसम्म सुनचाँदीका गरगहना चाहिने समाजका लागि यो क्षेत्रको महत्व विशिष्ठ रहेकाले सरकारले यो क्षेत्रको विकास र विस्तार गर्न चाहेको छ।’

कार्यक्रममा संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनचाँदीका गरगहनाको बजार वार्षिक १० प्रतिशत हाराहारीमा बढिरहे पनि सुन आयात र वितरणमा कोटा घटाइएकाले व्यवसायमा समस्या रहेको बताइन्। सरकारले पर्याप्त मात्रामा सुनचाँदी उपलब्ध गराए आफूहरूले गरगहना निकासी गरेर व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो