उत्शव काफ्ले : नेपाल स्काउट नेपालका बालबालिका तथा युवाहरूको चरित्र निर्माण, नेतृत्व विकास र सामाजिक सेवामा समर्पित राष्ट्रिय संस्था हो। विश्वमा स्काउट आन्दोलनको सुरुआत सन् १९०७ मा Robert lord baden -Powell द्वारा बेलायतमा गरिएको थियो।
आन्दोलनको प्रभाव नेपालमा पनि फैलियो र युवाहरूलाई अनुशासित, जिम्मेवार तथा सेवाभावी नागरिक बनाउन स्काउट कार्यक्रम सञ्चालन हुन थाले।
नेपालमा भने स्काउटिङ गतिविधि औपचारिक रूपमा प्रजातन्त्र स्थापना भएपछि वि.सं.२००९ साल (सन् १९५२ जुन १८) मा सुरु भएको मानिन्छ।यसको विधिवत उद्घाटन राजा त्रिभुवन विरविक्रम शाहदेव बाट भएको छ।प्रारम्भिक चरणमा विभिन्न विद्यालय तथा संस्थामार्फत स्काउट कार्यक्रम सञ्चालन गरिन्थ्यो।
त्यस समयमा युवाहरूलाई राष्ट्रप्रेम, अनुशासन, सहयोग र नेतृत्वका गुण विकास गराउने उद्देश्यले स्काउट गतिविधि विस्तार गरिएको थियो। पछि विभिन्न स्काउट समूहहरूलाई एकीकृत गरी राष्ट्रिय स्तरको संगठनका रूपमा Nepal Scouts को विकास गरियो। यस संस्थाले देशभरका विद्यालय तथा समुदायमा स्काउट कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपाल स्काउटको स्थापना युवाहरूलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी व्यावहारिक जीवनका सीप सिकाउने उद्देश्यले गरिएको थियो। स्काउट सदस्यहरूलाई शिविर सञ्चालन, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा, पदयात्रा तथा नेतृत्व विकासका विभिन्न तालिम प्रदान गरिन्छ। यस्ता गतिविधिले युवाहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र सेवा भावनाको विकास गर्छ।
समयसँगै नेपाल स्काउटले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै देशका विभिन्न जिल्लामा शाखा स्थापना गरेको छ। प्राकृतिक विपद्, भूकम्प, बाढी, पहिरो तथा अन्य संकटका समयमा स्काउटका सदस्यहरूले राहत वितरण, उद्धार कार्य तथा जनचेतना कार्यक्रम सञ्चालन गरेर समाजमा महत्वपूर्ण योगदान दिएका छन्। विद्यालय सरसफाइ, वृक्षारोपण, रक्तदान र वातावरण संरक्षणका अभियानमा पनि स्काउटहरूको सक्रिय सहभागिता देखिन्छ।
नेपाल स्काउट अन्तर्राष्ट्रिय स्काउट आन्दोलनसँग आबद्ध रहेको छ, जसका कारण नेपाली स्काउटहरूले अन्तर्राष्ट्रिय ज्यामबोरी, तालिम तथा सम्मेलनहरूमा सहभागी हुने अवसर प्राप्त गर्छन्। यसले नेपाली युवाहरूलाई विश्वका अन्य देशका युवासँग अनुभव आदानप्रदान गर्न र अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्न सहयोग पुर्याउँछ।
नेपाल स्काउट नेपालको युवा विकास क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्था हो। यसको स्थापना युवाहरूलाई अनुशासित, सक्षम र सेवामुखी नागरिक बनाउने उद्देश्यले भएको थियो, र आज पनि यसले शिक्षा, सेवा र नेतृत्व विकासमार्फत राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ।


















प्रतिक्रिया दिनुहोस्