हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा हुन यही शनिबारबाट लागेको मेयरकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहिबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको जानकारी गराएको छ । मेयरकप फुटबल प्रतियोगितामा सहभागी हुन टिमको प्रतिनिधिको उपस्थितिमा गोलाको मार्फत समितिका सदस्य सुनिल लोप्चनले खेल तालिका सार्वजानिक गरेका छन् । शनिबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा–४ र हेटौंडा–११ को टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । १९ वटा वडाको टिमको सहभागिता रहेको प्रतियोगितामा अन्य खेलको समय सार्वजानिक गर्न बाँकी रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्य विजय गौतम, यज्ञ बहादुर राय (बिनोद) को उपस्थिति रहेको थियो ।