हेटौंडा फुटबल एकेडेमीको टिम । फाइल तस्वीर ।

हेटौंडा । चितवन जिल्लाको रत्ननगर पालिकामा वडा नम्बर–१५ मा हुन लागेको दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजाजिक गरिएको छ । बिहीबार आयोजक माधवपूर खेलकुद विकास समितिले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत खेलतालिका सार्वजानिक गरेको हो । माधवपूर खेलकुद विकास समितिले सार्वजानिक गरेको खेलतालिका अनुसार शनिबार हुने प्रतियोगिताको उद्धाटन खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको टिमले सूर्यपूर फुटबल क्लबको टिमसँग सामना गर्नुपर्नेछ । खेल दिउँसो साढे ३ बजेबाट सुरु हुने खेलतालिका रहेको छ ।

उद्धाटन खेलमा जीत निकाले हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलको स्थान पक्का गर्नेछन् । ८ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् । रत्ननगर पालिकाको संरक्षणमा तथा एक्सपर्ट एजुकेशन एण्डभीजा सर्भिसेज प्राइभेट लिमिटेडको प्रयोजनामा प्रतियोगितामा माधवपूर खेलमैदानमा हुने प्रशिक्षक लामाले बताए ।

माधवपूर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका ।

हेटौंडा–४,स्थित हुप्रचौरमा नियमित रुपमा ८० जना खेलाडीलाई फुटबल प्रशिक्षण दिइरहेको उनले बताए । उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु मध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडीहरु पनि रहेका छन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई नियमित एक घण्टादेखि डेढ घण्टा सम्म प्रशिक्षण दिने गरेको उनले बताए । उनले आफ्ना महिला खेलाडीलाई महिला मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा समेत सहभागी गराएका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । भीमराज वाइबाको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार सम्म टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ ।