बागमती प्रदेशको राजधानी हेटौँडामा जारी पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’ मकवानपुर गोल्डकपको फाईनल खेल आज सकिएको छ ।

मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो र आज भएको फाइनलमा दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच भएको प्रतिस्पर्धामा गोल्डकपको उपाधि काठमाडौंको मनाङ मस्र्याङदी क्लबले हात पार्न सफल भएको छ ।
खेल आज हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो २ बजे सुरु भएको थियो । खेलमा मनाङ र शेर्पाले उपाधिका लागि भिडेका थिए । जसमा हिमालयन शेर्पा क्लबलाई १ -० गोलअन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो ।

मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको खेलमा मनाङका लागि रोशन रानामगरले ७७औँ मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो ।

मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दीप कार्कीले बुलेट बाइक प्राप्त गर्न सफल भएका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट बाइक प्रिन्सीपल पुरनबहादुर जोशीले मनाङका कप्तान समेत रहेका गोलरक्षक दीप कार्कीलाई हस्तान्तरण गर्नुभयो ।

गोल्डकपको उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गरेको छ भने उपविजेता हिमालयनले नगद १० लाखसहित शिल्ड प्राप्त गरेको छ ।