हेटौंडा । विशेष सूचनाका आधारमा पर्सामा गरिएको सफल अपरेसनमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीलेलागुऔषध ओसार–पसारमा संलग्न समूहलाई लक्ष्य बनाई प्रहरीले गरेको कडाइयुक्त कारवाहीले तस्कर नेटवर्कमाथि ठूलो प्रहार गरेको मानिएको छ।
सोमबार दिउँसो ३ बजे पटेर्वासुगौली गाउँपालिका–२ रंगपुर क्षेत्रमा इलाका प्रहरी कार्यालयको टोलीले व्यापक चेकजाँच चलाइरहेको क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा १० पोकामा प्याक गरि राखिएको १०४ केजी ३२५ ग्राम गाँजा कारभित्र विशेष तरिकाले लुकाइ–छिपाइ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कारसँगै पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी–८, महाबीरटोलका ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तान रहेका छन् । दुबैलाई तत्काल नियन्त्रणमा लिएर पर्सा जिल्ला प्रहरी कार्यालयमा बुझाइ लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार पर्सा हुँदै विभिन्न प्रदेशमा लागुऔषध ओसार–पसार बढिरहेको अवस्थामा नियन्त्रण अभियानलाई अझ तीव्र बनाइने जनाइएको छ। यस प्रकारका अपरेसन निरन्तर जारी रहने उनले बताएका छन् ।


































प्रतिक्रिया दिनुहोस्