भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ। भक्तपुर नगरपालिकाको समन्वय तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाई उक्त काम सुरु गरिएको हो।

सोमबार भक्तपुर नगरपालिका–९ दत्तात्रेयमा डोर टोली खटिएको थियो। यसअघि पहिलो दिन भक्तपुर नगरपालिका–३ वंशगोपालमा बसेर सेवा दिएको संघले जनाएको छ। सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको संघले जनाएको छ। त्यस्तै दोस्रो दिन भक्तपुर नगरपालिका–५ सुकुलढोका क्षेत्रबाट पनि ७० जनाभन्दा बढी व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ।

भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राहीहरू नगरबाहिरबाट समेत आएको जनाइएको छ। ढक–तराजु खरिद गर्दाको रसिद नभएकाले तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेका कारण धेरै व्यवसायी सेवाबाट वञ्चित हुनुपरेको देखिएको छ।

अहिले नयाँ ढक–तराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्दछ। म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ। भक्तपुर उद्योग वाणिज्य संघका सचिव एवं अनुगमन समितिका संयोजक विश्वराम दुवालले यो काम निरन्तर चलिरहने जानकारी गराए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो