
हेटौंडा । १५ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको मिति फेरि सरेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा दोलखा जिल्लाको चरिकोटमा हुने भनिएको राष्ट्रपति रनिङ्ग शिल्डकोे दोस्रो पटकको परिवर्तन मिति अनुसार जेठ १७ गतेदेखि १९ गतेसम्म हुने भएको छ । विभिन्न प्रकारका कारणले प्रतियोगिताको मिति परिवर्तन गरेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । यस अघि पहिलो पटकको प्रदेश खेलकुदले बैशाख २८ गतेदेखि ३० सम्म प्रतियोगिताको आयोजना गर्नेगरी मिति तय गरेको थियो भने दोस्रो पटक उक्त मितिलाई परिवर्तन गरेर जेठ ८ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुनेगरी सूचना प्रकाशन गरिएको थियो ।
विभिन्न जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । आउँदो जेठ १० गतेसम्म प्रतियोगितामा सहभागी गराउनका लागि खेलाडी छनौट गरेर परिषद्मा नाम उपल्बध गराउन अनुरोध गरेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराँते, उसु, एथ्लेटिक्स, कब्ड्डी लगायतका खेलहरु सञ्चालन हुनेछ । चितवन जिल्लाको भरतपूर महानगरपालिकामा गत फागुन महिनामा सम्पन्न भएको १४ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मकवानपुर एथ्लेटिक्सतर्फ तृतीय भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद्ले मिति परिर्वतनको बारेमा जानकारी गराउन प्रकाशन गरेको सूचना ।
प्रतिक्रिया दिनुहोस्