हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा पहिलो संस्करणको अखिल क्रान्तिकारी कप फुटबल यु–१६ फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन संघका अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षमा तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो । भोलि मंगलबार सम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा विद्यालयको सहभागिता रहेको छ ।
सोमबार भएको पहिलो खेलमा हेटौंडा–५,स्थित सिद्धार्थ शिशु सदनले हेटौंडा–१९,स्थित शिक्षा विकासलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ शिशु सदनको जीतमा धमेन्द्र स्याङ्तानले निर्णायक गोल गरेका छन् । सोमबार भएकै दोस्रो खेलमा हेटौंडा–७,स्थित तासिर इंग्लिस सेकेण्डरी बोर्डिङ्ग स्कूलले हेटौंडा–२,स्थित बालजागृति बोर्डिङ्गलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । तासिरको तर्फबाट एलएक्स आचार्यले २ गोल गरेका थिए ।
यस्तै, तेस्रो खेलमा हेटौंडा–९,स्थित माउण्ट एभरेष्ट बोर्डिङ्गले हेटौंडा–१२,स्थित फेमकोल एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यस्तै सोमबारको अन्तिम खेलमा रिलायन्स इंग्लिस बोर्डिङलाई १–० गोलले हराउँदै रुसल सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनल र फाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उद्घाटन समारोहमा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, नेकपा माओवादी केन्द्र हेटौंडा नगर कमिटीका अध्यक्ष प्रदिप अर्याल लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्